आइएलओले दियाे कोराेना महामारीसँग लड्न एनआरएनएलाई ५ करोड १० लाख

संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले कोराेना भाइरस (कोभिड-१९) महामारीसँग लड्न गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई आर्थिक सहयाेग गर्ने भएकाे छ।

एनआरएनएएका अध्यक्ष कुमार पन्तकाे अनुसार आइएलओले ४ लाख २४ हजार ३१० डलर अर्थात् ५ करोड १० लाख अनुदान दिने सम्झाैता भएकाे हाे।

उनका अनुसार विशेष गरी कोभिड-१९ बाट प्रभावित मलेसिया, युएई, कतार र साउदी अरब गरी चार देशका नेपालीको सहयोगार्थ आइएलओले आर्थिक सहयोग गरेको हो।

उनले उक्त रकम कोभिड-१९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमा खर्चिने जानकारी दिए।

एनआरएनएएले ती मुलुकमा रहेका नेपालीको सहयोगका लागि नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारी गरेको अध्यक्ष पन्तले बताए।

ती कार्यालयबाट विदेशमा कोरोनाकै कारण काम छाड्न बाध्य पारिएकालाई सुरुमै कानुनी परार्मश दिने पनि संघको तयारी रहेकाे उनले सुनाए । साथै आइएलओबाट प्राप्त सहयोग नेपाल फर्किनेहरुका लागि समेत खर्च गरिने उनले जानकारी दिए।

Image

प्रकाशित मिति: : 2020-07-05 07:52:19

प्रतिकृया दिनुहोस्