हंसरुत छन्द
आएका किन जगत्मा?
जाने भो दिन फगत्मा
के भो खै मुलुक निम्ति
ल्याएछौँ मगज कम्ति?॥१॥
आमाको टहल सेवा
त्यो नै हो महल मेवा
झुप्रोमा असल शान्ति
आँखामा सफल कान्ति॥२॥
पाएछौँ हरित भीसा
आमाका नयन चीसा
के भो खै पर गएर
अर्काका घर गएर॥३॥
कल्ले पौरख गरेर
ठूला बाकस भरेर
ल्यायो दौलथ कसेर
हल्का भो ऋण तिरेर!॥४॥
मुर्दा बाकस परेर
आयो मानिस मरेर
सुन्दा को सहन सक्ला!
खाडीमा रहन सक्ला?॥५॥
हे नेता! सुपथगामी
रोकी त्यो दुख सुनामी
आम्दानी सहज पार!
देशैमा युवक झार! ॥६॥
हाम्रो जङ्गल यहाँ छ
पूरा मङ्गल जहाँ छ
जेथा वा धन यही हो
बूटीको वन यही हो॥७॥
चाँदी खानि सुन खानि
ताँबा खानि नुन खानि
धेरै छन् खनिज चूर्ण
पानी हो तरल स्वर्ण॥८॥
डाँफे कोकिल मयूर
पक्षी लाखन प्रकार
कस्तूरी हरिण राम्रा
गौ गैँडादि पशु हाम्रा॥९॥
हात्ती अश्व कपि बाघ
लाखौँ छन् सविष नाग
लेकैमा असल चौँरी
पाखामा मधुर मौरी॥१०॥
छन् रे माथि हिम-मान्छे
ह्यूँ-देवी हृदय तान्छे
योगीले तप गुफामा
गर्छन् संयमिततामा॥११॥
जन्मेका जुन धरामा
ती धर्ती पनि त आमा
हुन् हाम्री,बुझ न! साथी
सेवाले पुज न! साथी॥१२॥
मेरो भाग्य कति राम्रो
पाएँ भूमि अति राम्रो
छन् ज्यादै जन उदार
राख्छन् हृत्तल पियार॥१३॥
पन्नाझैँ हरित सारा
फैलेको अवनि हेर
झुल्छन् स्वर्णसरि फाँट
दिन्छन् चित्तभरि आँट॥१४॥
कोशीझैँ सजल ताल
छन् हाम्रा पनि हिमाल
फुल्छन् सुन्दर गुराँस
छर्छन् पंकज सुवास॥१५॥
सानै होस् सिउँछ सूई
फाटेको दृढ गराई
सद्धर्मै छ बलियो ता
बाल्ला शान्तिमय ज्योति॥१६॥