भारतद्वारा चीनले थप २० हजार सेना सीमामा उतारेको आरोप

भारत र चीनबीच फेरि तनाव बढ्ने सम्भावना चुलिएको छ। सीमा विवादलाई मत्थर पार्न दुबै देशबीच सैन्य तथा कुटनीतिक स्तरमा वार्ता भएपनि परिणाम सुखद् निस्किएको छैन। 

लद्दाखमा दुबै सेना वास्तविक नियन्त्रण रेखा (एलएसी)बाट पछि हट्ने सहमति भएपनि चीनले थप २० हजार सेनालाई विवादीत क्षेत्रमा उतारेको भारतले आरोप लगाएको छ। 

यस्तै, शिनजियाङमा थप १० हजार सेना ‘रिजर्भ फोर्स’ को रूपमा राखेको र आवश्यकता पर्दा तुरुन्त खटाउन सकिने गरेर तयारी गरेको बताइएको छ। 

चीनसँगै पाकिस्तानले पनि गिलगिट र बाल्टिस्तानको सीमा क्षेत्रमा २० हजार सैनिकलाई उपस्थिति गराएको भारतीय सुरक्षा श्रोतले उल्लेख गरेका छन्। 

सरकारी श्रोतका अनुसार चीनले दुई वटा डिभिजनलाई एलएसीको पूर्वी लद्दाख क्षेत्रमा तयारी अवस्थामा राखेको छ। अर्को डिभिजनलाई भने शिनजियाङमा ‘ब्याक–अप फोर्स’ को रूपमा राखेको छ।

 यहाँ भारत र चीनबीच १ हजार किलोमिटरको खुला सीमा रहेको छ। चीनतर्फ समथल भूभाग भएको हुनाले उनीहरू घटना स्थलमा ४८ घण्टाभित्र पुग्न सक्ने बताइएको छ। 

भारतीय अधिकारीहरूले पनि विवादीत क्षेत्रमा सेनाको अर्को डिभिजन पठाउने विषयमा विचारविमर्श गरिरहेको छ। 

चीनले यसअघि तिब्बत क्षेत्रमा दुई वटा मात्र डिभिजन राखेको थियो। तर, अहिले युद्धको स्थितिलाई मध्यनजर गर्दै थप दुईवटा डिभिजनलाई तयारी अवस्थामा राखेको छ। यसको अर्थ यति बेला तिब्बत क्षेत्रमा ४० हजार चिनियाँ सेना रहेका छन्। 

दुई देशबीच गत अक्टुबरदेखि नै विवाद चुलिएको थियो। गत जुन १५ मा गलवान उपत्यकामा चिनियाँ सेनाले २० भारतीय जवानलाई मारेपछि स्थिति तनावपूर्ण भएको थियो। चीन र भारतबीच ६ सातादेखि वार्ता चलिरहेको छ। तर, त्यो उपलब्धिमूलक हुन सकेको छैन। 

चीनले गलवानको पेट्रोल प्वाइन्ट–१४ मात्र होइन, पेङ्गोङ ताल र फिङ्गर एरियामा पनि आफ्नो उपस्थिति बढाइसकेको छ। फिङ्गर–८ क्षेत्रमा चीनले आफ्नो प्रशासनिक बेस क्याम्प नै तयार पारिसकेको छ।

 जहाँ ठूलो गाडी तथा साना पानी जहाज नै उपस्थित छन्। श्रोतका अनुसार फिङ्गर–८ मा जहाँ चिनियाँ सेनाले बाटो निर्माण गरेका छन्, त्यो ठाउँबाट फिङ्गर ४ मा पुगेर भारतीय सेनासँग झगडा गर्न सजिलो छ। फिङ्गर क्षेत्रमा चीनले १८–१९ मेमा सैन्य उपस्थिति बढाएको थियो।

प्रकाशित मिति: : 2020-07-01 17:22:00

प्रतिकृया दिनुहोस्