शार्दूलविक्रीडित छन्द
कोभिड-१९ कविता-(प्रथम भाग)
कोरोनाकन मार्न सक्छ कसले कोर्रा, जगत् आत्तियो
देखी मानिसको महाविवशता, यो रोग झन् मात्तियो
यस्तो कोप कि हो कतै प्रकृतिको या मानवी दुष्टता?
आफ्नै वंश-लता सखापतिरको कल्ले गऱ्यो धृष्टता?
बाटो बन्द हुने गरेर यसको मारेर ताला बसौँ
छातीमा यसका यसै नियमले ताकेर भाला धसौँ
अर्को युक्ति छ चित्त हुन्छ बलियो एकाग्र माला जपौँ
चर्खाझैँ दिनरात घुम्छ पृथिवी यो दुष्ट जाला खपौँ।
कोरोना किन भो असाध्य यसरी? छक्कै छ वैज्ञानिक
स्पर्धामा पछि पर्दछ प्रकृतिको कच्चै छ वैज्ञानिक
खोजीमा उपचारको कटि कसी पक्कै छ वैज्ञानिक
पायो चाल अझै सयौँ विषयमा बच्चै छ वैज्ञानिक।
हार्ला यो जति नै हठी किन नहोस् ,सङ्घर्ष जारी रहोस्
नाकाबन्द गरेर संक्रमितको बाटो उतै बन्द होस्
झार्ला यै सजिलो उपाय यसको सेखी अवश्यै पनि
कोरोना कुन नामको र’छ चरो?सोध्लान् सबैले अनि।
बस्छन् संयममा जनावरहरू पन्छी पखेरूहरू
बस्छन् संयममा अचूक जलका माछादि प्राणी बरु
मान्छे मात्र यहाँ अहो मनपरी आचार-छाडा भयो
फोस्रो भौतिकवादमाथि यसको आसक्ति गाढा भयो।
सोझा सज्जनमाथि कष्ट खनियो कर्तृत्वले धूर्तका
बिग्र्यो सुन्दरता उता प्रकृतिको दुष्कर्मले दुष्टका
हानी भोग्नु-पऱ्यो स्वयं मनुजले ज्यादै नराम्रोसित
निम्त्यायो यसले विनाश-जगको-आयो इतिश्री कि त।
शब्द- टेकनारायण रिमाल “कौशिक“ याङ्गौँ म्यान्मा (बर्मा)
स्वर र संगीत- श्री चिरञ्जीवी सिग्देल, गोदावरी ललितपुर नेपाल