क्वारेन्टाइनबाट चम्चा र गिलाससमेत चोरी

त्रिवेणी नगरपालिका–६ पन्धारास्थित पुष्पलाल आधारभूत विद्यालयको क्वारेन्टाइनमा चोरी भएको छ ।

क्वारेन्टाइनमा बस्नेका लागि प्रयोग हुने ओढ्ने ओछ्याउनेदेखि खानका लागि प्रयोग हुने सामग्री चोरी भएको नगर प्रवक्ता प्रेमबहादुर थापाले बताए ।

असार ५ गतेदेखि खाली रहेको क्वारेन्टाइनको ढोका फोडेरभित्र रहेका सम्पूर्ण सामग्री चोरी भएको थापाले जानकारी दिए ।

क्वारेन्टाइनबाट कचौरा ३४ थान, थाल ३४ थान, गिलास ३७ थान, चम्चा ३९ थान, कुकर पाँच लिटर एक थान, फराइबीन दुई थान कराइ एक थान, पुन्यूउ एक थान चोरी भएको छ ।

यस्तै क्वारेन्टाइनमा बस्नेका लागि खरिद गरिएका र यसअघि बस्नेले प्रयोग गरेका गद्दा ३६ थान, तन्ना चार थान, सिरक २६ थान र पिफर्म तीन वटा चोरी भएको छ ।

चोरी गरेको थाह पाएलगत्तै प्रहरी प्रतिवेदन तयारी पारेर खोजी कार्य थालिएको नगरपालिकाले बताएको छ ।

पिसिआरको रिपोर्ट नआउँदै घर

जिल्लाको बूढीगङ्गा नगरपालिकाको क्वारेन्टाइनमा बसेका १८ जना कोरोना सङ्क्रमितलाई घर पठाएको छ ।

सङ्क्रमितमा १४ दिनसम्म कुनै पनि लक्षण नदेखिएको भन्दै सङ्क्रमितलाई घर पठाइरहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

बूढीगङ्गा नगरपालिका–१ धुरालसैन क्वारेन्टाइनमा बसेका १७ जना र वडा नम्बर २ वसन्त प्राविको क्वारेन्टाइनमा रहेकी एक सङ्क्रमितलाई नगरपालिकाले घर पठाएको हो ।

वसन्त प्राविमा रहेकाको आरडिटी पोजेटिभ आउँदा पिसिआरको लागि पठाएको तर रिपोर्ट नआउँदै ११ जनालाई समेत घर पठाइएको छ ।

१४ दिनसम्म लक्षण नदेखिए होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउन सरकारको निर्देशनअनुसार नै पठाइएको स्वास्थ्य कार्यालयको दाबी छ ।

१४ दिनसम्म पनि पिसिआर जाँचको रिपोर्ट नआएपछि वसन्त बालमैत्री विद्यालयमा रहेका ११ जना आरडिटी पोजेटिभ व्यक्तिलाई पनि घर पठाइएको हो ।

सरकारको मापदण्डअनुसार घरको आइसोलेसनमा बस्ने गरी कागज बनाएर पठाएको अनमी दीया सिंहले बताइन् ।

सञ्चो नहुँदै घर पठाइएका होम क्वारेन्टाइनमा नबसी घुम्ने गरेको पाइएको छ । जसले गर्दा गाउँमा त्रासको वातावरण छ ।

स्थानीय प्रहरी प्रशासन, स्थानीय तह र स्वास्थ्य कार्यालयकै लापरवाहीले सङ्क्रमणले ठूलो रुप लिने चिन्ता स्थानीयमा छ ।

यसअघि बाजुराकै बडिमालिका नगरपालिकाका ३४ जना सङ्क्रमतिलाई पिसिआर जाँचको रिपोर्ट नआउँदै घर पठाइएको थियो ।

प्रकाशित मिति: : 2020-06-26 07:38:04

प्रतिकृया दिनुहोस्