युरोपमा काेराेना महामारीको दोस्रो लहर सुरु भएको संकेत, स्वास्थ्य सेवा अति कमजोर हुने चेतावनी

 विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले युरोपमा पुनः कोरोना भाइरस (काेभिड–१९)को संक्रमण बढ्दो क्रममा देखिएको जनाएको छ।

काेराेना भाइरसकाे संक्रमण फैलिन नदिनका लागि विभिन्न देशमा लागु गरिएका लकडाउन केही मात्रामा खुकुलाे बनाएसँगै पछिल्ला हप्तामा संक्रमितकाे संख्या ह्वातै बढेकाे हाे।

डब्लुएचओका क्षेत्रीय निर्देशक डा. हान्स हेनरी क्लुगका अनुसार अर्मेनिया, स्वीडेन, माल्डोभा, नर्थ मेशेडोनियासहितका ११ देशमा काेराेना संक्रमण बढ्दो क्रममा रहेको छ। 

महामारीको दोस्रो लहर आउने सम्भावना देखिएको र सावधानी नअपनाइएमा स्वास्थ्य सेवा अति कमजोर हुने चेतावनी उनले दिएका छन्। अहिले थुप्रै देशमा अक्सिजन कंस्नट्रेटर मेशिनको संख्या निकै कम भएको पनि बताइन्छ।

संक्रमितको संख्या बढ्दै जाँदा ८८ हजार ठूलो अक्सिजन सिलिण्डरको कमी देखिएको छ। अक्सिजन कंस्नट्रेटर संक्रमितलाई स्वास लिन आवश्यक छ। 

डब्लुएचओका अनुसार युरोपमा अहिलेसम्म २६ लाख भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ। त्यसमध्ये एक लाख ९५ हजार भन्दा बढीको ज्यान गएको छ।

यता युरोपमा पछिल्लो समय दैनिक झण्डै २० हजार काेराेना भाइरसका संक्रमित थपिने गरेको छ। त्यसमध्ये सात सय भन्दा बढीको मृत्यु हुने गरेको देखिएको छ।

अजरबैजान, काजखस्तान, अल्बानिया, बोसनिया हर्जगोविना, किर्जिकिस्थान, युक्रेन र कोसोभोमा काेराेना भाइरसकाे संक्रमण बढ्दो क्रममा देखिएका छन्। 

पोल्याण्ड, जर्मनी, स्पेन, इजरायलसहितका देशले विद्यालय, कोइला खानी तथा खाद्य उत्पान उद्योगमा देखिएको संक्रमण नियन्त्रणका लागि तत्काल काम गरेकाले थप फैलिन नपाएको पनि उनले बताएका छन्।

तर बेलायतमा कोरोना संक्रमितमाथि नयाँ भ्याक्सिनको परीक्षण सुरु भएको छ। बेलायतले मानिसमाथि कोरोना भ्याक्सिनको परीक्षण गरेको यो दोस्रो अवसर हो। यसअघि यो भ्याक्सिन जनावरमा परीक्षण गर्दा सफल भएको थियो। 

लन्डनको इम्पेरियल कलेजका प्रधानाध्यापक रोबिन सटोकको नेतृत्वमा पहिलो चरणअन्तर्गत ३ सय मानिसमा परीक्षण हुँदैछ। 

पहिलो चरणको परीक्षणपछि अक्टुबरमा दोस्रो चरणको काम सुरु हुनेछ। 

भ्याक्सिन ६ हजार मानिसमा परीक्षण गर्ने योजना रहेको इम्पेरियल कलेजले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2020-06-26 06:00:02

प्रतिकृया दिनुहोस्