घुस लिएको आरोपमा असईसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पर्समा कार्यारत एक प्रहरी सहायक निरीक्षक (असई)सहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

वीरगञ्ज महानगरपालिका अन्तर्गत पर्ने अस्थाई प्रहरी पोष्ट इनर्वागाउँका तत्कालिन असई पूर्णबहादुर तामाङ, हवल्दार विष्णु दयाल चौधरी, जवानद्वय अवधेश राय, राजकुमार गुरुङ र कावासोतीका सोनाम तामाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले बिहीबार मुद्धा दायर गरेकाे हाे। 

अनुसन्धानकाे क्रममा उनीहरुले घुस लिएको पुष्टि भएपछि मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।

असई तामाङ, प्रहरी हवल्दार विष्णु दयाल र लागूऔषध नियन्त्रण व्यूरो शाखा पर्साका प्रहरी जवान रायले अर्का प्रहरी जवान गुरुङसँग मिलेर अपरिचित हुण्डी कारोबारीबाट बरामद भएको अवैध २० लाख रुपैयाँबाट ७ लाख एकआपसमा बाँडीचुडी घुस लिएको दाबी अख्तियारले गरेको छ।

जसमध्ये रायले १ लाख २५ हजार रुपैयाँ, प्रहरी हवल्दार विष्णु दयालले १ लाख १० हजार, चौधरीले नै अन्य सहयोगीहरुलाई दिन थप ६५ हजार र बाँकी ४ लाख असई तामाङले आफैसँग राखेकाे अख्तियारको आरोप पत्रमा उल्लेख छ।

अख्तियारले असई तामाङ, विष्णु दयाल, राय र गुरुङलाई भ्रष्टाचार निवारण ऐन अनुसार घुस लिएको आरोपमा ७ लाख बिगो कायम गरेको छ।

प्रकाशित मिति: : 2020-06-25 20:04:06

प्रतिकृया दिनुहोस्