महाराष्ट्र नवनिर्माण सेना पार्टी (मनसे) को विरोधका कारण म्युजिक कम्पनी टि सिरिजले बुधबार पाकिस्तानी गायक आतिफ असलमको गीत युट्युबबाट हटाएको छ। आतिफले गाएको ‘किन्ना सोना’ गीत हटाउँदै टि सिरिजले यसका लागि मनसे पार्टीसँग माफी पनि मागेको छ।
टि सिरिजले शनिबार सिद्धार्थ मल्होत्रा तथा तारा सुतारियाको फिल्म ‘मरजावा’ को चर्चित गीत ‘किन्ना सोना’ लाई युट्युब च्यानलमा रिलिज गरेको थियो। यसको विरोध गर्दै मनसे चित्रपट सेनाका अध्यक्ष अमेया कोपकरले विरोध जनाउँदै कम्पनीलाई धम्की दिएका थिए।
धम्कीकै कारण टि सिरिजले उक्त गीत हटाएको हो। कम्पनीले मनसेका प्रमुख राज ठाकरेलाई पत्र लेखेर माफी समेत मागेको छ।
टि सिरिजले कम्पनीमा कार्यरत कर्मचारीको असावधानीका कारण गीत अपलोड भएको भन्दै यसलाई तुरुन्त हटाएको जानकारी दिएको छ। कम्पनीले पाकिस्तानी कलाकारलाई अब उप्रान्त काम नदिने पनि बताएको छ।