‘शीत युद्धताका अमेरिका चन्द्रमामा बेस क्याम्प राख्न चाहन्थ्यो’

शीत युद्धको अन्त्य भएको तीन दशक बितिसकेको छ। तर, त्यति बेला भएका ठूला घटनाहरूको रहस्योद्घाटन हुने क्रम भने रोकिएको छैन। यस्तै एउटा घटना हालै सार्वजनिक भएको छ। 

शीत युद्धताका अमेरिकाले विश्वमा आफ्नो प्रभुत्व स्थापित गर्न चन्द्रमामा एउटा बम बिस्फोट गराउन तथा सैन्य अड्डा बनाउने योजना अगाडि सारेको हालै प्रकाशित एउटा किताब ‘सेक्रेट्स फ्रम द ब्लाक भल्ट’ मा सार्वजनिक भएको छ।

अमेरिकी लेखक जोन ग्रिनवाल्ड जुनियरले प्रकाशित गरेको किताबमा तत्कालिन सोभियत संघभन्दा आफूलाई सर्वशक्तिमान देखाउन अमेरिकाले सन् १९५९ मा चन्द्रमामा बम बिस्फोट गराउन चाहेको उल्लेख छ। ग्रिनवाल्ड १५ वर्षको उमेरदेखि नै अमेरिकी गुप्तचर रिपोर्टमा रुचि राख्ने व्यक्ति हुन्। 

बेलायती अखबार डेली मेलका अनुसार ग्रिनवाल्डले हालसम्म ३ हजार बढी गुप्त सूचना बाहिर ल्याउने प्रयास गरेका छन्। ‘ब्ल्याक भोल्ट’ ले यस्तै रोचक घटनालाई अनलाईन संस्करणमार्फत बाहिर ल्याउने पनि गरेको छ। यसमा २ करोडभन्दा बढी पेज भएको बेलायती अखबारहरूले उल्लेख गरेका छन्।  

सन् १९५९ मा अमेरिकी सेनाका अनुसन्धान तथा विकाश प्रमुख लेफ्टिनेन्ट आर्थर जी ट्रुडोले अमेरिकाले सोभियत संघलाई प्रतिस्पर्धामा हराउनु छ भने चन्द्रमामा स्थायी बेस क्याम्प बनाउनु पर्ने सुझाव दिएका थिए। उनले चन्द्रमामा सैन्य बेस क्याम्प राख्ने योजनाले अमेरिकी प्रतिष्ठा अभिबृद्धि हुने र देशलाई मनोवैज्ञानिक लाभ हुने बताएका थिए। 

रिपोर्ट अनुसार चन्द्रमामा १२ जनाको क्याम्प तथा यसलाई वार्षिक रूपमा क्रियाशील बनाउन ६ अर्ब डलर खर्च हुने बताइएको थियो। त्यति बेलाको यो रकमको मूल्यांकन हाल गर्ने हो भने ५३ अर्ब डलर खर्च हुने थियो। 

यो प्रोजेक्टको कोड नेम ए–११९ राखिएको थियो। अन्तरिक्षको दौडमा अगाडि निस्किन अमेरिकाले मेक्सिकोको किर्टल्याण्ड एयरफोर्स बेसस्थित एयरफोर्स डिभिजनमा यसको सुरुवात नै गरेको थियो। 

१९५९ मा ‘ए स्टडी अफ लुनर रिसर्च फ्लाइट्स’ शीर्षकमा प्रकाशित रिपोर्टमा भनिएको थियो, अमेरिकाले चन्द्रमाको टर्मिनेटर अर्थात सतहको त्यही भाग, जहाँ सूर्यको प्रकाशबाट परावर्तित हुने अध्यारो ठाउँको बीचमा परमाणु बमलाई बिस्फोट गर्ने योजना बनाइएको थियो।

बिस्फोटको यो प्रक्रिया पृथ्वीबाट नाङ्गो आँखाले हेर्न मिल्ने गरेर गर्न लागिएको किताबमा उल्लेख छ। यसमा सेनाको योजना सोडियम हाल्ने थियो, जुन बिस्फोटको समय अझ चम्किलो देखियोस् भनेर।  

ग्रिनवाल्डले लेखेका छन्, अमेरिकी वायुसेना चन्द्रमालाई सोभियत संघ तथा विश्वभरि आफ्नो प्रभुत्व स्थापित गर्ने कार्यमा प्रयोग गर्न चाहन्थ्यो। यो योजना पहिलो पल्ट १९९९ मा वैज्ञानिक कार्ल सगनको जीवनी लेख्ने क्रममा सार्वजनिक भएको थियो। सगनले आफै बर्कलेस्थित प्रतिष्ठित मिलर इन्स्टिच्युटमा यस कुरा सार्वजनिक गरेका थिए।

प्रकाशित मिति: : 2020-06-24 14:14:52

प्रतिकृया दिनुहोस्