भारतमा एकै दिन झण्डै १६ हजार कोरोना संक्रमित भेटिए

बिएल संवाददाता

नयाँ दिल्ली

भारतमा कोरोनाभाइरसबाट संक्रमितको दैनिक संख्या अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ। 

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा एकै दिन झण्डै १६ हजार जना संक्रमित भेटिएका छन्। 

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा १५ हजार ९६८ जना कोरोनाभाइरसबाट संक्रमित भएको जनाएको छ। सोही अवधिमा भारतमा कोरोनाका कारण ४५६ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कुल मृतकको संख्या १४ हजार ४७६ पुगेको छ भने संक्रमितको संख्या चार लाख ५६ हजार १८३ पुगेको छ।

भारतमा अहिले पनि कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाहरुको संख्या एक लाख ८३ हजार २२ रहेको छ। त्यसैगरी संक्रमणमुक्त भएकाहरुको संख्या दुई लाख ५८ हजार ६८५ पुगेको छ। 

प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै महाराष्ट्रमा संक्रमित भएका छन्। महाराष्ट्रमा अहिलेसम्म एक लाख ३९ हजार १० जना संक्रमित भएको तथ्याङ्क छ।  तीमध्ये ६२ हजार ८४८ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु ६९ हजार ६३१ जना संक्रमणमुक्त भइसकेका छन्। 

त्यसैगरी महाराष्ट्र राज्यमा कोरोनाभाइरसबाट संक्रमित भएर अहिलेसम्म छ हजार ५३१ जनाको मृत्यु भएको छ। 

अधिकारीहरुका अनुसार केन्द्रीय राजधानी समेत रहेको दिल्लीमा भने संक्रमितको संख्या ६६ हजार ६०२ जना रहेको छ भने दुई हजार ३०१ जनाको मृत्यु भएको छ। 

त्यसैगरी तेस्रो धेरै प्रभावित तमिलनाडु राज्यमा ६४ हजार ६०३ जना संक्रमित हुँदा ८३३ जनाको मृत्यु भएको छ  ।

प्रकाशित मिति: : 2020-06-24 13:21:35

प्रतिकृया दिनुहोस्