गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा बुधबार थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा‍. विनोदबिन्दु शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

शर्माका अनुसार बागलुङमा ९ जना कोरोना संक्रमित फेला परेका छन्। बरेङ गाउँपालिकामा ८ जना र जैमिनी गाउँपालिकाका एक जनामा कोरोना संक्रमण देखिएको हो।

स्याङ्जामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्याङ्जाका अर्जुनचौपारी गाउँपालिकामा १ जना, आँधीखोला गाउँपालिकामा १ जना र वालिङ नगरपालिका ३० महिने बालिकासहित ५ जनामा कोरोना संक्रमण देखिएको छ।

यस्तै लम्जुङको मध्यनेपाल नगरपालिकाका ४ जना पुरुष र बेंशिशहर नगरपालिकाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।

कास्कीको पोखरा महानगरपालिकामा २ महिला र एक पुरुष गरी ३ जना र मादी गाउँपालिकाका एक महिला र एक पुरुष गरी २ जनामा समेत कोरोना संक्रमण देखिएको डा. शर्माले जानकारी दिए।

यस्तै नवलपुरको गैंडाकोट नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पर्वतको कुश्मा नगरपालिका, गोरखाको गण्डकी गाउँपालिका र तनहुँको देवघाट गाउँपालिकाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाका क्वारेनटाइन तथा होम छन्। उनीहरुलाई बुधवार नै सम्बन्धित जिल्लाका आइसोलेसनमा सार्ने तयारी भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ।

बुधबार पुष्टि भएका ३२ सँगै गण्डकीमा संक्रमितको संख्या सात सय २९ पुगेको छ।
 

प्रकाशित मिति: : 2020-06-24 07:47:18

प्रतिकृया दिनुहोस्