राष्ट्रपति ट्रम्पलाई कोरोना परीक्षण कम गर्न सुझाव दिएका छैनाैं: डा. एन्थोनी फाउची (भिडियाे)

बिएल संवाददाता

वासिङटन, डिसि

अमेरिकाका वरिष्ठ सरुवा रोग विज्ञ तथा कोरोना भाइरस टास्क फोर्सका सदस्य डा. एन्थोनी फाउचीले आफूहरुले कहिल्यै पनि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको परीक्षण कम गर्न सुझाव नदिएको पनि बताएका छन्।

गएको शनिबार राति ओक्लोहोमामा भएको चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकाले धेरै परीक्षण गरेकाले संक्रमण धेरैमा देखिएकाले सम्बन्धित अधिकारीहरुलाई परीक्षण कम गर्न निर्देशन दिएका थिए। 

सो विषयमा डा. फाउचीले भने, ‘हामी कसैले पनि परीक्षण कम गर्न भनेका छैनौँ। हाम्रो जोड बढी भन्दा बढी परीक्षण गर्नुमा रहेको छ।’

डा. फाउची नेशनल इन्स्टिच्यूड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजका निर्देशक डा‍‍‍. फाउचीका साथमा सुनुवाईमा सहभागी भएका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी), फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) र डिमार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्विसका प्रतिनिधिले पनि आफूहरुले राष्ट्रपति ट्रम्पलाई परीक्षण कम गर्ने सुझाव नदिएको बताए।

राष्ट्रपति ट्रम्पले ‘जति परीक्षणलाई बढायो त्यति सङ्क्रमितको सङ्ख्या बढ्ने’ भन्दै परीक्षणमा हतार नगर्न प्रोत्साहन गरेपछि ह्वाइट हाउसले उक्त टिप्पणी ‘मजाक’ का रुपमा आएको बताएको छ। 

तर मंगलबार ट्रम्पले पत्रकारसँग आफूले कुनै पनि विषयमा मजाकमा कुरा नगर्ने बताएर राष्ट्रपति कार्यालयको बचाउ विपरित बोलेका छन्।

लकडाउनसहितका उपायहरुमा छुट दिइएका बेला अमेरिकाका केही राज्यमा पछिल्ला दिनमा संक्रमण र गम्भीर बिरामी परेर अस्पताल भर्ना हुनेहरुको संख्या बढिरहेको छ।

डा. एन्थोनी फाउची पछिल्लो समय देशमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढी रहेको र यो अति चिन्ताको विषय रहेको बताएका छन्।

केही राज्यमा अति तीव्र गतिमा संक्रमणका फैलिरहेको बताएका उनले यो अवस्था विचलित पार्ने खालको रहेको भन्दै सचेत गराएका छन्।

डा. एन्थोनी फाउचीसहितको स्वास्थ्य अधिकारीहरुको टोलीले अबको केही दिन कोरोना भाइरसको नयाँ महामारी नियन्त्रणका लागि अति महत्वपूर्ण हुने बताएका छन्।

कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म कोभिड–१९ बाट एक लाख २० हजार भन्दा बढीको ज्यान गइसकेको छ।
 

प्रकाशित मिति: : 2020-06-24 07:18:48

प्रतिकृया दिनुहोस्