आषाढ कृष्ण औँसीका दिन आज बिहान १०ः५० बजेदेखि खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागिरहेको छ।
बिहान १०ः५० बजे स्पर्श भएको सूर्यग्रहण मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे मोक्ष प्राप्त गर्ने छ। तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिनेछ।
नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट ९८ प्रतिशतसम्म सूर्य ढाकेको देखिने जनाइएको छ।
चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन भने सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ। मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ। आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नै नष्ट हुन गई मानिस सदाको लागि अन्धो समेत हुन सक्छ। सूर्यग्रहण नाङ्गो आँखाले कहिले पनि हेर्नु हँदैन। सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ।
ग्रहण हेर्न बनाइएको विशेष चस्माको प्रयोग गरी ग्रहण हेरेमा कुनै नोक्सानी हुँदैन। सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यबिम्बको प्रतिबिम्ब बनाई छाया हेर्नु नै हो। काठमाडौँबाट मध्याह्न १२ः०४ बजे सूर्यलाई करीब ८८ प्रतिशत ढाकेको देखिनेछ। यसैकारण ग्रहणका समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुनेछ।