भारतमा ८ दिनमै थपिए एक लाख काेराेना संक्रमित, १३ हजार बढीकाे मृत्यु

बिएल संवाददाता

नयाँ दिल्ली

भारतमा काेराेना भाइरस संक्रमितको संख्या ४ लाखको सीमा पार गरेको छ।

शनिबार भारतमा १५ हजार २ सय ३ जनामा कोरोना संक्रमण भेटिएपछि संक्रमितकाे संख्या  ४ लाख १० हजार ९ सय २३ पुगेको हाे। 

भारतमा संक्रमितको संख्या १ लाख पुग्न १ सय ९ दिन लागेको थियो भने पछिल्ला एक लाख संक्रमित थपिन जम्मा ८ दिन लागेको छ।

भारतमा  एकै दिन काेराेना भाइरसकाे संक्रमणबाट ३ सय ७७ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ हजार पार भएको छ।

पछिल्लो तथ्याङ्कअनुसार कोरोना भाइरसबाट भारतमा १३ हजार १ सय ८३ जनाको मृत्यु भएको छ।

भारतमा पछिल्लो ८ दिनमा एक चौथाई संक्रमित थपिएका छन्। पछिल्ला ८ दिनमा मृत्यु हुनेको संख्या ३२.६ प्रतिशत छ।

भारतकाे राजधानी नयाँ दिल्लीमा ३६ सय ३० नयाँ काेराेना संक्रमित थपिएका छन् भने महाराष्ट्रमा ३८ सय ७४ मा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ।

दिल्लीमा एकै दिन ७७ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-06-21 08:25:23

प्रतिकृया दिनुहोस्