हरेक दिन १० हजार पीसीआर परीक्षण, निजीमा ३ र प्रदेशमा १ हजार : स्वास्थ्यमन्त्री ढकाल

सरकारले प्रदेश प्रयोगशालाको क्षमता क्षमता वृद्धि गर्दै जनशक्ति थप गरी प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने तयारी गरेको छ।  

स्वास्थ्य मन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेसम्म निजी क्षेत्रको सहयोगमा हरेक दिन १० हजारका दरले  पीसीआर परीक्षणको दायरा बढाउने बताएका हुन्। 

‘अहिले भएकामा जनशक्ति थपेर, २४ सै घण्टा सञ्चालन गरेर र निजी क्षेत्रको सहयोगमा १० हजार परीक्षण गर्न सकिन्छ’, उनले भने। निजी क्षेत्रबाट प्रतिदिन ३ हजार परीक्षण गर्न सकिए १० हजार परीक्षण गर्न सकिने उनले बताए।

यस्तै मन्त्री ढकालले प्रत्येक प्रदेशमा हरेक दिन १ हजारसम्म जाच्ने गरी स्तरवृद्धि गरिने बताए।

मन्त्री ढकालले स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमितता नभएको पनि बताए। अनियमितता भएको आशंकामा संसदको लेखा समितिले सोमबार जवाफ दिन खरिद प्रकृयामा संलग्न व्यक्तिहरुलाई बोलाएको छ। त्यअघि नै मन्त्री ढकालले सबै खरिद प्रकृया विधिअनुसार नै भएको बताए।

‘कानून सबैलाई थाहा छ। पछिल्लोपटक पनि मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर विशेष अवस्थामा खरिद गर्ने भनिएको हो। विधि जे हो त्यहीबाट गर्ने भनेका छौँ,’उनले भने। 

मन्त्री ढकालले विदेशबाट आउनेहरुको हकमा एउटा जहाजमा आउने सबैको पीसीआर परीक्षण गरेको सात दिन नपुगेको भए सबैलाई होम क्वारेन्टाइनमा पठाइने पनि बताए। 
 

प्रकाशित मिति: : 2020-06-20 17:53:29

प्रतिकृया दिनुहोस्