विदेशी बुहारीलाई सात वर्षपछि मात्रै नागरिकता दिने नेकपाको निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)विदेशी बुहारीलाई सात वर्षपछिमात्र नागरिकता दिने निर्णयमा पार्टी पुगेको छ। 

शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले  राज्यव्यवस्था तथा सुशासन समितिले पेश गरेको सुझावलाई अनुमोदन गर्दै विदेशी बुहारीलाई सात वर्षपछिमात्र नागरिकता दिने निर्णय गरेकाे हाे। 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहे गरेको सात वर्ष पुगेको पुष्टि भएपछि सम्बन्धित देशको नागरिकता त्यागे नेपाली नागरिकता पाइने प्रावधानमा नेकपा अडिग रहेको बताए। 

उनले भने, 'नेपाली नागरिकसँग बिहे गरेको सात वर्ष पुगेको पुष्टि हुनुपर्छ। त्यसपछि अर्को देशको नागरिकता त्यगेमात्र नागरिकता दिने निर्णय नेकपाले गरेको छ।' 

नागरिकता विधेयक दुई वर्षदेखि संसदीय समितिमा अलपत्र छ।  अंगीकृत नागरिकताका सम्बन्धमा नेकपा र प्रमुख प्रतिपक्ष कांग्रेसबीचमा मत बाझिएपछि गत भदौ २८ गते संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भयो। २० मिनेटका लागि भनेर स्थगित भएको उक्त बैठक १० महिनापछि गत मंगलबार बल्ल बस्यो। तर मत मिलेको छैन।

समितिको सचिवालयले विदेशबाट बिहे गरेर आएकी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिने गरी गरेको प्रस्तावमा कांग्रेस, राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका सांसदले असहमति जनाए। 

त्यसपछि  गृहमन्त्रीले बुधबार संसदीय समितिमा ५ दिन समय माग गरेका थिए। बिहीबारको नेकपा नेताहरुसँगको छलफलमा कांग्रेसले बैवाहिक अंगीकृत नागरिकताका सम्बन्धमा हाल विद्यमान कानुनमा कुनै संशोधन र परिवर्तनको आवश्यकता नभएको पुरानै अडान प्रस्तुत गरेको थियो। कांग्रेसको अडानपछि प्रधानमन्त्री ओलीले पार्टीमा छलफल गरेका हुन्।
 

प्रकाशित मिति: : 2020-06-20 12:06:34

प्रतिकृया दिनुहोस्