बेसर्मी गोसाई लज्जित जनता

बनियाँले कात्रो बेच्दा नाफा खाँदैन! तर यी हिजडाहरले त चीतासम्म पनि नाफा खान छोड्ने रहेनछन्! धन्य ईश्वर नीचताको पराकाष्टताको पनि नमना हेर्ने अवसर प्राप्त भयो।

प्रदीप कुमार चापागाईँको सामाजिक सञ्जालमा भेटिएको यो भनाइले प्रष्ट पारिरहेको छ सत्तासिन गोसाईहरुको हर्कत। मान्छेमा जब संवेदना हराउँदै जान्छ तब पचाउँदै जान्छ लाज सरम भन्ने कुरा पनि। बनिदिन्छ बञ्जरभूमिजस्तो। दुख्दैन अरुको दुःखले। नैतिकता, इमानदारी,मानवीयता भन्नु कुन चरीको नाम हो, बनिदिन्छ बेसर्मी।

सुदूरपश्चिममा एउटा उखान छ ‘हग्दे लाज नाई रे देख्दे लाज’। जसको अर्थ हुन्छ – बाटोमा वा खुला क्षेत्रमा दिशा गर्नेलाई लाज छैन, उसलाई देख्नेहरु लजाउँछन्।  अहिलेको परिवेशमा यो उखान सतप्रतिशत कतै लागू हुन्छ भने सत्ताधारी गोसाईहरुमा नै लागू हुन्छ। सरकार यति विघ्न नाङ्गिसक्यो कि देखिनु बाँकी केही छैन। सर्वाङ्ग नाङ्गो छ तर पनि लज्जाको भाव छैन। कुनै पछुतो छैन। आत्मआलोचना छैन। उल्टै जङ्न्छिन् गोसाई र दोष देखाउँछन् जनताजनार्दनलाई, पत्रपत्रिकालाई।

देखेन सडकमा, खेतमा भोकले प्राण त्याग गरेका सूर्यबहादुर तामाङ र मलर सदाहरुलाई। छोएन रुकुम चौरजहारीको नरसंहार घटनाले। रूकुमको जघन्य अपराध ढाकछोप गर्न खोज्दै छ सरकार। कैयौ संवेदनशील मनहरु सशंकित छन् कतै निर्मला पन्त घटना जस्तै गुमनाममा पारिने त हैन भनेर? देशलाई वर्वादीको मोडमा धकेल्दैछन् गोसाईले। क्रूर बनिदिन्छन् नागरिकप्रति। देशलाई कोरोनाबाट भन्दा नि बढी संक्रमणको खतरा कतैबाट छ भने त्यो सरकारबाटै छ। भष्टाचारको चौडा सडक बनाईदैछ।

स्थानीय तहदेखि प्रदेश सरकारहुँदै केन्द्रसम्मको हालबात बुझ्दै जाने हो भने आफैं लजाउनुसिवाय कुनै उपाय छैन। बाहिरबाट आउनेलाई १४ दिन क्वारेन्टाइनमा राखेर बिना परीक्षण घर फिर्ता पठाइदैछ। हुँदाहुँदै अब क्वारेन्टाइनमै नराख्ने सिधै घर पठाउने नीति ल्याइदिन्छ सरकार। प्रदेशहरुमा पीसीआर मेसिनको अभाव खट्केकै छ। पीसीआर परीक्षणको रिपोर्ट पाउन दूरदराजकाले तीन सातासम्म पर्खिनु परेका, मृतकमध्ये अधिकांशको परीक्षणको नतिजा मृत्यु पछि मात्रै आएको खवर सुन्दा शासकलाई हैन जनतालाई लाज लागिरहेको छ। आफैं लजाउनु सिवाय केही छैन यहाँ। एकातिर तीन वटै तह गरेर १४ अर्व रुपैया सिद्धिसक्यो। नक्कली बिल भौचर तयार पार्दै छ सरकार अर्बौंको हिसाब देखाउन। अर्कोतिर क्वारेन्टाइनको अवस्था कस्तो छ जग जाहेर नै छ। झ्याल ढोका बन्द भएका बेला अर्बौं उडाउने चक्रवात चल्छ भित्रभित्रै।

विश्व आक्रान्त छ। जनता रोग, भोकले मरिरहेको संकटको बेला उता सुदूरपश्चिम प्रदेशका गोसाईहरुले आफ्नो तलबभत्ता बढाएको खबर सुनिन्छ। भारतबाट भित्रिएका ४० प्रतिशतमा कोरोना संक्रमण देखिने विज्ञहरुको ठम्याइ हुँदाहुँदै पनि पछिल्लो पटक नेपाल भित्रिएका करीव २ लाख सुदूरपश्चिमेलीहरुको परीक्षण समेत हुन सकेको छैन। २८ लाख जनताको पिसिआर परीक्षण गर्न जम्मा एउटा मेसिन छ कैलालीमा। उपचारको त कुरै छोडौं। चैतमै तीन वटा पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको सुदूरपश्चिम सरकारले छैन अहिलेसम्म एउटा पनि मेसिन खरिद गर्न सकेको। बजेटको आँकडा हेर्दा सातवटै प्रदेशमध्ये कोरोना संक्रमणको निमित्त सबैभन्दा बढी रकम खर्च गर्नेमा पनि सुप प्रदेश सरकार नै देखिन्छ। यही बेला सुदूरपश्चिम सरकार ८८ वटै स्थानीय तह तथा ९ वटा जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यको सेवासुविधा बृद्धि गर्न ऐन संशोधन गर्न लागेको कुरा बाहिर आएको छ। लगडाउनको बेला दैनिक भ्रमण भत्ता समेत बुझ्न भ्याएका सुप प्रदेश सरकारका गोसाईका बारे थप कुरा गर्नु पनि आफैंमा लज्जाको विषय बन्न जान्छ।  

गाउँघरतिर रातमा बत्तीमा तेल थपिरहने समयकी आमाहरू सन्ततिको बाटो हेर्दै भन्छन्– ‘मर्नु नै छ भने पनि घरमै आएर मरोस्। कम्तिमा मुख त देखुँला अन्तिम समयमा एकपल्ट च्यूँडो त मुसारला।’ यो माया र ममताको उद्गारले हल्लाइदिन्छ संवेदनशील मनलाई।  तर, बुझेनन् जिम्मेवारी निभाउनुपर्नेले यो मर्म। मुख्यमन्त्री, मन्त्री, सांसद, प्रतिपक्ष दल देखिएनन् कोही पनि जिम्मेवार। रहेनन् कोही पनि जनता सामु अनुहार देखाउन लायक। उता पत्रकार दीर्घ उपाध्याय, उद्योग वाणिज्य संघ कैलालीका उपाध्यक्ष पुष्कर ओझा, समाजसेवी श्याम तायललगायतका थुप्रै मनहरु भारतबाट आएर नाकामा अलपत्र परेका श्रमिकको उद्धारमा देखापरिरहे।

पीसीआर मेसिन खरिद गर्न चन्दा संकलन कार्यमा सक्रिय देखिए। कैलालीमै मन्त्री र सांसदको सेवासुविधाका लागि भन्दै व्यङ्ग्य गरेर १ रुपैयाँ चन्दा उठाउने कार्य समेत गरे जनताले। सन्देश रेकर्ड गरेर मन मुटु छुने खालका बिलौना पोखिरहे कतिपयले विदेशबाट। पत्रपत्रिकाका पाना भरिएका छन्, सामाजिक संजालका भित्ता भरिएका छन् श्रमिकका दुःख अनि विरहका भाकाले। तर पनि कानमा तेल हालेर सुतिरहने गोसाईलाई भन्न बाँकी केही छैन अब।

राष्ट्रपति कार्यालयमा बगैंचा स्याहार सम्भारका लागि मात्रै वर्षमा ४२ लाख रुपैया खर्च गरिरहेको सरकार सिद्धार्थ आउजी जस्ता श्रमिकलाई आत्महत्या गर्न बाध्य तुल्याइरहेको छ।

कतै कार्पेट र बाथरुमका योजना सुनिन्छन् कतै जिमखाना निर्माणार्थ मोटो रकम छुटट्याइन्छ। तर, ६० वर्ष मुनिका अपाङ्ग र एकल महिलाले पाउँदै आएको भत्ता समेत यही श्रावणदेखि नपाउने गरी बजेट ल्याइएको छ।  कसैले केही भन्नु छैन प्रशासन लगाउँछ र जनताका भाटा सेक्न थाल्छ सरकार। सरकारको अश्लिलता देखेर याद आउँछ विगतमा सुनेको कथा।

कथा भन्छ –बिहे गरेपछि पहिलो पटक माइत फर्केकी नातिनी र जुवाइसँगै आँगनमा बसिरहेकी थिइन् हजुरआमा। साथमा थिए त्यस्तै ७/८ वर्षका जेठा नाति पनि। आँगनमा भलासुकाली भइरहेको बेला ५ वर्षीय कान्छो नाति दौडिदै आएर भन्न थालेछन्, ‘हजुर आमा, हजुरआमा फलानोको राँगोले फलानोको भैंसी तीन पल्ट बाली भयो।’ जेठो नातिले रिसाउँदै चर्को स्वरमा भनेछ भाइलाई, ‘ए तेरी माँ ....  त्यस्तो लाज कुरा भन्नु हुँदैन भन्ने थाहा छैन।’ भाइलाई लाज कुरा भन्नु हुँदैन भनेर सिकाउने दाइ आफ्नै भाइलाई सुरूमै आमाचार्की गाली गरिराखेको थियो। यो देशका ठुले गोसाईले पनि भनिरहन्छन् भ्रष्टाचारीलाई छाडिन्न तर सरकार स्वयम् भ्रष्टाचार गरिरहन्छ।

कथाका प्रमुख पात्र बनेका ती दुई बालकमध्ये दाइ चाहिलाई सबैको सामुन्ने लाज लाग्ने कुरा बोल्नु हुन्न भन्ने थाहा छ। तर पनि रिसाएर भाइलाई गाली गर्ने क्रममा फुत्किदिन्छ उनको मुखबाट अश्लील शब्द। गलत सहन नसक्दा आवेगमा आउँदा विवेक पुर्‍याउन नसकेको अवस्था थियो त्यो। समाजले लाज भनिदिएको कुरा सुन्नु पर्दा निस्केको एउटा निर्दोष आवाज थियो त्यो। अर्का ती अवोध बालकलाई थाहा थिएन त्यस्तो बोल्नु हुँदैन भन्ने। यता देश चलाउनेहरुलाई जुन काम नराम्रो हो गर्नु हुन्न भन्ने राम्ररी थाहा छ। त्यही काम योजनावद्ध ढंगले गरिदिन्छन्। एउटा बालक लाज ठानिएको कुरा सुन्न नसक्दा रिसको झोकमा भूलबश लाज लाग्ने शब्द बोलिदिन्छ।

यता राष्ट्र हाक्नेहरु गलत लुकाउन नसक्दा, कुकर्महरु लुकाउँदा लुकाउँदै बाहिर छताछुल्ल हुन थाल्दा जंगिन्छन्, उफ्रिन्छन् र अरुमाथि खनिन थाल्छन्। अनि भन्नु पर्ने हुन्छ, ‘जो बाटो हगुवा उसैको चर्को स्वर।’ बाटोमा हग्नेलाई हैन देख्नेलाई लाज हुन्छ। अचेल मेरो देशका जनता लजाउँछन्, लोकतन्त्र लजाउँछ, गणतन्त्र लजाउँछ तर नेताहरु निर्लज्ज भएर लुटिरहन्छन्। ती गाउँले बालकहरुले अबोधपन र अज्ञानताको कारण बोलेको कुरा क्षम्य भैदिन्छ। यता महारथीहरु हरेक क्षेत्रमा आफूलाई विज्ञ ठान्छन् र देश लुटिरहन्छन्। घरमूलीले नै गल्ती गर्दै गएपछि सधैंसधैं त्यो गल्ती क्षम्य हुन सक्दैन र त सडकमा देखिन्छन् इनफ इज इनफ लेखिएका ब्यानरहरू।

साराशंमा भन्नु पर्दा बालकको गल्तीमा निर्दोषपन बढी थियो। तर, देशको बागडोर सम्हालिरहेका गोसाईहरु जानीजानी, गलत गर्ने उद्देश्यका साथ गलत गरिरहेका छन्। यीनले सम्पूर्ण वातावरणलाई नै दूषित तुल्याइरहेका छन्। समाज भाँडिरहेका छन्। संस्कृति सिध्याइरहेका छन्। यीनको नियत नै नराम्रो छ। समग्रमा भन्नु पर्दा यी दोषी छन्। यीनले ठुलै अपराध गरिरहेका छन्। यो देशका नेताहरु जबजब सत्तामा पुग्छन तबतब सुरु गर्छन् अपराध।

शारीरिक रुपले मान्छेको अस्तित्व मिटाइ दिनु मात्रै ज्यानमारा अपराध होइन। वर्षौवर्ष जनतालाई आश्वासनको डोरीमा  झुण्ड्याएर, झुटको खेती गर्दै तिनैले तिरो तिरेको दुई पैसामा रजाई गर्नु अझ ठूलो अपराध हो। लाखौं करोडौं जनता मार्दै छन् महारथीहरुले। कृषिप्रदान देशका यी महासयहरु कुशासनको प्लटमा लूटको खेती गरिरहेका छन्। हिजो आज यीनमा उनै पञ्चायतकालका ठालुहरुको झल्को पाइन थालेको छ।

ती गोसाईहरुलाई कहिल्यै लाग्दैन लाज बरू जनता लजाइरहेका छन्, नेपाल आमा लजाइरहेकी छन् तिनका कुकृत्य देखेर।  यिनीहरु सत्ता टिकाउनका लागि र गलत लुकाउनको लागि पनि अश्लील बनिदिन्छन्। नाङ्गो नाच नाचिरहन्छन्। आफूले गरेका कुकृत्यहरु कसैले जनसमुदायलाई जानकारी गराउँदा, दुनियाले थाहा पाउदा खनिन थाल्छन् कहिले मिडियासँग त कहिले अन्य सर्वसाधारणसामू। पुलिस प्रशासनलाई अह्राउँछन् सर्वसाधारणमाथि हिर्काउन। तानाशाह बनिदिन्छ सम्राटहरु।

ती बूढी आमैका नाति आवेशमा अश्लिल शब्द बोल्न पुगेकोमा क्षणभरमै मलिन मुहार लगाएर टाउको निहुराउँछन्। लज्जित भएको महशुस गर्छन्। पछुतोको भाव टल्काउछन् मुहारमा। यो देशका सत्तासिन गोसाईहरु आफैंले बोलेका कुराको आफैंले खण्डन गर्न थाल्छन्। झ्याल ढोका बन्द गरेर मिलोमतोमा कुम्ल्याउँछन् अर्वौ रुपैया। ढाड सेक्छन् जनताको र बनिदिन्छन् निर्लज्ज। त्यसैले त गाउँमा देउसराले भनिरहन्छिन्, ‘अति भयो यो त,’ सहरमा सडकमा निस्किएकका युवा जमातको आक्रोस सुनिन्छ, ‘सयौं सत्ताको झापड खाने एउटै गाला नेपाली। इनफ इज इनफ।’ हो राणा कालदेखि गणतन्त्रसम्म सत्ताको झापड खाइनै रहे निर्दोष जनताले। बेसर्मी बनिरहे गोसाईहरु, लज्जित भैरहे निर्दोष जनताहरू।

हेमन्त विवशका थप आलेख

१. 
गोसाई आब केलाई चाहियो पर्देश सरकार?
२. लकडाउन, सेतीका छाल र फैलिँदै गरेको जाल
३. चैत मात्तर गयो गोसाई बिसुँ आएइन
४. चैत, क्वारेन्टाइन र कोरोना पूजा
५. अधुरै रह्यो जन्मथलो हेर्ने इच्छा 
६. काट्न खोजेँ आफ्नै घाँटी
७. प्रश्न सोधिरहन्छ साला जिन्दगी
८. चिया पसल चलाउँदै सांसद (भिडियोसहित)
९. गलीगली
१०. सहरमा पाइला टेक्ने सोच मात्रै छ गाउँसँग
११.गोसाईका भाषणमै झुण्डिएको आयोजना
प्रकाशित मिति: : 2020-06-20 10:58:14

प्रतिकृया दिनुहोस्