कारागार कार्यालय बैतडीको सुरक्षामा शुक्रबारदेखि नेपाली सेना परिचालन गरिएकोे छ।
कारागार र विकास आयोजनासहित महत्वपूर्ण संरचनाको जिम्मा नेपाली सेनालाई दिने सरकारको निर्णयअनुसार नै सेनालाई परिचालन गरिएको हो।
बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार कारागार सुरक्षाको जिम्मा बैतडीमा रहेको हनुमानध्वज गुल्मका सेनालाई दिइएको हो।
केही दिनअघि बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्ला कारागारको सुरक्षाको जिम्मेवारी सेनालाई दिने निर्णय गरिएको थियो। यसअघि कारागारको सुरक्षा दिइरहेका नेपाल प्रहरीलाई कोरोना रोकथाम तथा नियन्त्रण क्षेत्रमा खटाइने बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
नेपाल सरकारले अर्काे व्यवस्था नगर्दासम्म जिल्ला कारागारको सुरक्षा नेपाली सेनाले गर्ने जिल्ला प्रमुख जोशीको भनाइ छ।
सरकारले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई कोरोना रोकथाम तथा नियन्त्रणको क्षेत्रमा परिचालन र सेनालाई कारागार र जलविद्युत्को क्षेत्रको सुरक्षालगायत महवपूर्ण प्रतिष्ठानमा पठाउने निर्यण यसअघि नै गरिसकेको थियो।