बेलायतबाट असार १० र १२ गते उद्धार गरिने

कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले विदेशमा रोकिएका नेपालीमध्ये बेलायतमा बस्नेहरु पनि  नेपाल फर्कन पाउने भएका छन् । लण्डनस्थित नेपाली दूतावासका पहलमा गठित सूचना सङ्कलन सहयोग समितिमार्फत बिहीबार दिइएको जानकारीअनुसार यही असार १० र १२ गते  नेपालका लागि उडान भर्ने निश्चित भएको छ ।

उडान लण्डनको ग्याटविक  विमानस्थलबाट जजिरा एरवेजमार्फत दुवै दिन अपराह्न ठीक २ः४५ मा गरिने दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले बताए । दुई हप्ताअघि दूतावासले बेलायतबाट नेपाल फर्कन चाहने ४२० जनाको विवरण नेपाल पठाएको थियो । 

पहिलो चार्टर्ड उडानको क्षमता केवल १५८ जनाको मात्र भएकाले दूतावासले पहिलो चरणमा लैजानेहरूलाई मात्र टिकट लिएर तयारी रहन भनी इमेल गरेको छ । दोस्रो चरणमा जानेहरूले केही दिनपछि मात्र टिकट लिन भनी सूचना पठाइएको दूतावासले बताएको छ । 

यसरी फर्कने नेपालीलाई तयारी स्वरुप आफ्ना राहदानी तथा पिसिआर वा आरडिटी परीक्षण नेगेटिभ वा कोरोनाको लक्षण नभएको भनी स्वास्थकर्मीबाट प्रमाणित गरेको प्रमाणपत्र हुनुपर्ने भनिएको छ । त्यस्तै टिकटको रकम सम्पूर्ण करसहित ९२० पाउण्ड लाग्ने छ ।  नेपालबाट टिकट लिनका लागि सम्बन्धित व्यक्तिको सम्पर्क विवरण पनि उल्लेख गरिएको छ ।
 

प्रकाशित मिति: : 2020-06-19 15:08:55

प्रतिकृया दिनुहोस्