दिउँसोको २ बज्दै थियो। उनले आफ्नो ६ महिने नानीलाई दुध खुवाएर सुताईन्। अरू एक देखि ५ वर्ष सम्मका साना बालबालिकालाई खेल्न माथिल्लो तलामा पठाईन्। आफू भने हतार हतारमा भान्सा छिरिन्। ‘आफैंले बनाएर स्वास्थ्यकर खाना पकाएर दिन मनपर्छ। जस्तो त्यस्तो खाना दिन मनलाग्दैन,’ उनी भन्दै थिईन्।
यस्तो भन्ने व्यक्ति उनै ईन्दिरा रानामगर हुन्। जो आफू २० वर्षकी हुँदा करिव १५ हजार बालबालिकाकी आमा बनेकी छन्। तर उनी आफैले जन्म दिएको सन्तान भने एउटा छोरी मात्र छ।
जेल जीवन विताएका अभिभावकका छोराछोरी अलपत्र नपरून् र आमा बुवासँगै छोराछोरीको जीवन बन्दी नहोस् भनेर ईन्दिराले बीस वर्ष अघि ‘बन्दी गृह नेपाल’ को स्थापना गरिन्।
ईन्दिरा स्वर्गिय पारिजातसँगै सामाजिक कार्यमा लागेकी थिइन्। बन्दी गृह नेपालको संस्थापक अध्यक्षसमेत रहेकी ईन्दिराले भर्खरै जन्मिएका शिशुहरू आफैंसँग राखेर हुर्काउँदै आएकी छन्। अरूले शिशुको स्याहार राम्रोसँग गर्दैनन् जस्तो लाग्छ उनलाई। आमाको मन न हो। साना बालबालिकाको दिशापिसाप सोहोर्नुदेखि सामाजिक कार्यमा दौडनु र कार्यालयको काममा ध्यान दिनु उनको लागि समान्य भइसक्यो।
ईन्दिरालाई संस्थामा रहेका सबैले ‘आमा’ भनेर सम्वोधन गर्छन्। आमाबुवाले कैदी जीवन विताए पनि तिनका सन्तानको जीवनका लागि काम गर्ने ईन्दिरा करिव ३५ वटा देश घुमिसकेकी छिन्। त्यहाँका जेल घरहरूमासमेत पुगेकी छिन्। उनलाई नेपालको मात्र होइन। विदेशी भूमीमा बन्दी जीवन बिताईरहेका अभिभावक, छोराछोरी र त्यहाँको प्रणालीका बारेमा समेत बुझ्ने मौका पाएकी छिन्।
उनको परिचय यतिमा मात्र सिमित छैन। ईन्दिराले बन्दिहरूलाई आफ्नो संस्थामार्फत स्वास्थ्य उपचार, शिक्षा, मानवअधिकार, उद्वार, स्याहारका साथसाथै संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सन् २०१४ मा विश्व प्रसिद्ध ‘वर्ड चिल्ड्रेन अनरेरी पुरस्कार’ पाइन्। यस्तै बीबीसी रेडियोले सन् २०१७ मा उनलाई विश्वभरबाट ‘बीबीसी १०० प्रेरणादायी र आविश्कारी’ महिलाको रुपमा चुनेको थियो। यस्तै सन् २००५ मा अमेरिकाको अशोका फाउण्डेशनबाट उनले अशोका फेलो सम्मानसमेत पाइन्।
सामाजिक अभियन्ता ईन्दिराले नेपाल सरकारको महिला तथा बालबालिका मन्त्रालय र क्रिएटिभ स्टेटमेण्टद्वारा ‘पावर गणेश– २००६ पुरस्कार, सन् २००९ मा एशिया सोसाईटीद्वारा एशियाका २१ युवा नेता सार्वजनिक सेवा पुरस्कारलगायतबाट सम्मानित भइसकेकी छिन्।
सादा जीवन उच्च विचार र राजनीति, ठूलाबढासँग चिना परिचयभन्दा पनि आफ्नै काममा व्यस्त रहने ईन्दिराको यो औपचारिक परिचय हो।
अहिले विश्व नै कोरोना महामारीको जालमा फसेको छ। यसले गर्दा भोकमरी र महामारी पनि मानव जातिमा सँगै निम्तिएको छ। कोरोनाको महामारीकै कारण मानवतासमेत हराउँदै गएको छ।
महामारीले गर्दा मध्यम तथा गरिव परिवार न घरमा बस्न सक्छन्, न त बाहिर जान नै सक्छन्। अझै यसमा पनि सडकमै रात बिताउने, नशा लिने, घरबारबिहिनका लागि सोच्ने सायदै होलान्। यस्ता व्यक्ति सरकारी सूचीमा पनि छुटेका छन्। किनकि, उनीहरू सबैका लागि चोर–फटाहा हुन्। ईन्दिरा भने अरूका नजरमा चोर–फटाह, सडकमा बस्ने, शरीर बेच्नेकी आमा बनेकी छिन्।
माहामारीको शुरूवातसँगै नेपालमा लकडाउन शुरू भयो। बजार पसल सबै बन्द भयो कामधन्दा नभएपछि सडकमा बस्नेहरू भोकभोकै रहन बाध्य भए। यस्तै बेला ईन्दिराले दैनिक तीन सयभन्दा बढी बालबालिका, वयश्क र तेस्रो लिङ्गीलाई तात्तातो खाना आफैंले बनाएर उनीहरूको भोक मेटाउन थालिन्।
संस्थाका साना बालबालिका स्याहार्नु। खाने कुरा किनेर ल्याउनु। साढे तीन सय जनालाई भोक मेट्नु, जेल घरमा पीपीई, पञ्जा, मास्कलगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री उपल्पध गराउनुलगायतका काम तीन महिनादेखिको ईन्दिराको दैनिकी हो। यति गरेर साँझ ६ बजे विभिन्न स्थानमा खाना लिएर पुगिसकेकी हुन्छिन्।
उनको शरीरको फूर्ती हेर्दा लाग्छ कम्प्यूटर जस्तै चलायमान छिन् उनी। फूर्तिलो शरीर हेर्दा उमेरले ५० पुगेको जस्तो लाग्दैन। घाम होस् वा पानी ईन्दिराले यो करीव तीन महिनामा तात्तातो खाना लिएर ट्याक्सीमा नहिँडेको दिन छैन।
सजकता
ईन्दिरा जती अरूको ख्याल राख्छिन् उत्तिकै आफ्नो पनि स्वास्थ्यको ख्याल राख्न भ्याएकी हुन्छिन्। किनकि, उनीसँग जोडिएका कलिला छोराछोरी उनको बाटो कुरेर बसेका हुन्छन्। ‘आमा कति बेला आउनुहुन्छ भनेर बाटो हेरि बस्छन्। त्यसैले पनि कोरोना विरुद्धको लडाई र सचेतनामा निकै ध्यान दिने गरेकी छु’, उनले भनिन्।
उनी सडकमा खाना बाढ्न जाँदा पीपीई, फेस सिल्ड, मास्क,पञ्जालगाएर सुरक्षित भएर जान्छिन्। आफूसँगै हिँड्ने ट्याक्सी चालकलाई पनि उनले पीपीईलगायतका सामाग्री दिएकी छन्।
सडकमा खानासँगै स्यानिटाईजर, मिनरल वाटर, सावुन पनि उनी बाढ्छिन्। जहाँ ईन्दिराले खाना खुवाउने गरेकी छन् त्यहाँको ठाउँ खानुअघि र खाईसकेपछि सफा गर्न लगाउँछिन्।
कहिलेकाही त आफैं झाडु लिएर सफा गर्छिन्। खाना खुवाउँदा भौतिक दूरी अनिवार्य गर्न लगाउँछिन्। सडकमा बस्ने बालबालिका होस् वा वीर अस्पतालमा बसेका कुरूवा, तेस्रो लिङ्गी समुदाय होस् वा बाटोका बटुवा ‘आमाले बनाएको खाना अरूले दिने भन्दा मिठो हुन्छ’ भनेर ठमेलदेखि रत्नपार्कसम्म रातको ९ बजेसम्म कुरेका हुन्छन्।
तेस्रो लिङ्गी सम्झनाले पनि ईन्दिरा आमाले जस्तो खाना कसैले नदिने दाबी गर्छिन्। ‘आमाले जस्तो खाना त कसैले बनाउँदैन र यसरी पानी पनि दिदैनन्,’ उनले भनिन्।
नेपालमा पनि पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। महामारीमा परेर ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ। ईन्दिराले समस्यामा सजकताका साथ काम गर्न जानेकी छिन्। त्यही भएर उनी भोकै कसैले बस्नु नपरोस् भन्छिन्।
समस्या
ईन्दिरा अर्थात आमाले जति जति सहयोग गरिरहेकी छिन्। त्यति नै मानसिक समस्यासमेत झेल्नुपरिरहेको छ। कहिले सडकका खातेलाई खाना खुवाउछेस् भनेर प्रहरीले थर्काउँछ भने कहिले ठमेलका स्थानीय व्यपारीले रोक्छन्। जनसेवा, ट्राफिक प्रहरीले ईन्दिरालाई सडकमा खाना खुवाउँदा धेरै नै सहयोग गरेका छन्। तर सोह्रखुट्टे प्रहरीमा डिएसपी परिवर्तन भएपछि निकै तनाव झेल्नुपर्यो।
ईन्दिराले सामाजिक दूरी कायम गराएर, सरसफाई गरी सञ्चयकोष भवन अगाडि सडकमा बस्नेलाई खाना दिन्थीन्। त्यहाँबाट पनि उनलाई व्यापारीले भगाउन लगाए। अब त उनलाई बानी भइसक्यो। ‘चोर–फटाह, जड्याहालाई भोक लाग्दैन? यदि हामीले यिनीहरुलाई खाना नदिने हो भने यिनीहरुले यो समयमा झन अपराधिक क्रियाकलाप गर्छन्’, उनले भनिन्, ‘मैले यो दृष्टिकोणबाट हेरेर अहिले जति तनाव भए पनि खाना दिइरहेको छु।’
ईन्दिरालाई एक दिन सोह्रखुट्टे प्रहरीले खातेहरुले पसल फोडेमा तपाईँ (इन्दिरा)ले जिम्मा लिनुपर्छ भनेर समेत धम्काएका थिए। यो कुरा सुनेपछि सडकका बालबालिकाले ‘आमा हामी तपाईँलाई अफ्ठ्यारो हुने काम गर्दैनौं’ भनेर हात जोड्दा ईन्दिरा भावुक बनिन्।
सहयोग
ईन्दिराले अहिले जति पजि सहयोग आइरहेको छ। अधिकांश ईन्दिराले हुर्काएका छोराछोरीले सहयोग गरिरहेका छन्। धेरै जसो ब्रिट्रिस लाहुरेमा छन् भने कोही विदेशमा राम्रै जागिर खाएर बस्छन्। केही सहयोग भने नेपालमा बस्ने सहयोगी मनहरूले गरेका छन्।