अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानले पोस्ट गरेको एउटा विज्ञापन सामाजिक सञ्जाल फेसबुकले हटाएको छ। नाजी जर्मनीमा प्रयोग हुने संकेत प्रयोग भएको ट्रम्पको चुनावी विज्ञापन फेसबुकले हटाएको हो।
ट्रम्पको चुनावी अभियानको विज्ञापनमा प्रयोग भएको रातो त्रिकोण नाजीले कम्युनिष्टसहितका आफ्ना विपक्षीलाई इंगिद गर्न प्रयोग गर्ने संकेतसँग मिलेको फेसबुकले जनाएको छ।
विज्ञापनले संस्थागत रुपमै घृणा फैलाउन खोजेको आरोप फेसबुकको छ। आफ्नो नीति विरुद्ध भएकाले विज्ञापन हटाइएको उसको भनाई छ।
तर ट्रम्पको चुनावी अभियानले फार लेफ्ट एक्टिभिस्ट ग्रुप एनटिफालाई संकेत गर्न सो त्रिकोण प्रयोग गरेको दाबी गरेको छ। एनटिफाले सो रातो त्रिकोण प्रयोग गर्छ।
मतदातासँग संवाद गर्ने शैलीले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ठूलो प्रभाव पर्छ। अनिर्णीत मतदाताको ठूलो जमातलाई फकाउन उनीहरूसँग कसरी र कुन माध्यमबाट प्रस्तुत हुने भन्ने महत्त्वपूर्ण हुन्छ। र, पछिल्ला पर्चा, अन्तर्वार्ता, पत्रकारसम्मेलनजस्ता परम्परागत माध्यमभन्दा सटरडे नाइट लाइफजस्तो टीभी कार्यक्रम, जीवनशैली पत्रिका र अझ केही वर्षयता सामाजिक सञ्जाल अमेरिकी राष्ट्रपतीय उम्मेदवारले संवाद गर्ने महत्त्वपूर्ण फोरम बनेका छन्।
वाल स्ट्रिट जर्नलका अनुसार सञ्चारका परम्परागत माध्यमले जनतालाई डिटिजल मिडियाजसरी आकर्षित गर्न छाडेका छन्। चुनावी अभियानका विज्ञापन पनि सामाजिक सञ्जाललाई केन्द्रित गरिएका छन्।
फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबजस्ता सामाजिक सञ्जालका माध्यमबाट उम्मेदवारमात्र मतदातासँग संवाद गर्दैनन्। समर्थक, मतदाता, विचारक र विश्लेषकका लागि पनि आफ्ना धारणा सार्वजनिक गर्ने फोरम हो सामाजिक सञ्जाल। त्यसैले अहिले चुनावी प्रचारप्रसारलाई सामाजिक सञ्जालमा ब्यापक बनाइएको छ।