अमेरिकाको एट्लान्टामा एक अश्वतलाई पक्राउ गर्ने क्रममा गोली प्रहार गरेका प्रहरी अधिकारीमाथि हत्या तथा ज्यादतीको अभियोगमा मुद्दा दायर भएको छ।
गएको हप्ता जर्जिया राज्यको एट्लान्टामा प्रहरीको गोली लागेर २७ वर्षका रेशर्ड ब्रूक्शको ज्यान गएको थियो।
स्थानीय रेस्टुरेन्टको अगाडि कारमा ब्रूक्स निदाउँदा बाटो नै बन्द भएको भन्दै प्रहरीलाई खबर गरिएको थियो। ब्रेथलाइजर टेस्टमा असफल भएपछि उनलाई प्रहरीले पक्रिन खोजेको थियो।
तर ब्रूक्सले त्यसको विरोध गरेपछि तनावको अवस्था सिर्जना भएको र अवस्था नियन्त्रणमा लिनका लागि गोली चलाउँदा उनी घाइते भएको प्रहरीले जनाएको छ। घाइते भएका उनको उपचारको क्रममा निधन भएको हो।
ब्रूक्सको निधनपछि प्रहरी ज्यादती र रंगभेदविरुद्ध आन्दोलन थप चर्कियो।
घटनापछि अमेरिकाको एट्लान्टाका प्रहरी प्रमुख एरिका शिल्ड्सले राजीनामा दिएकी छन्।
एरिका सनन् २०१६ को डिसेम्बरदेखि एट्लान्टाको प्रहरी प्रमुखका रुपमा कार्यरत थिइन्। उनले एट्लान्टा प्रहरीमा विगत २० वर्षदेखि काम गर्दै आएकी थिइन्।
सो घटनामा गोली प्रहार गर्ने ग्यारेट रोल्फ प्रहरीबाट पनि बर्खास्त भइसकेका छन्। उनीमाथि हत्यासहितका ११ अभियोग दर्ता भएको छ। दोषी प्रमाणित भएमा मृत्युदण्डसम्मको सजाय रोल्फले पाउने छन्।
घटनास्थलमा रहेका अर्का प्रहरी अधिकारी डेविन ब्रोस्नानले प्रत्यक्षदर्शीका रुपमा बयान दिने छन्।
ब्रूक्सको मृत्युका दोषीलाई कारवाहीको माग गर्दै एट्लान्टामा प्रदर्शन भएको थियो। अमेरिकाभर यसअघि नै जर्ज फ्लोइडको मृत्युलाई लिएर प्रहरी ज्यादती तथा रंगभेद विरुद्ध प्रदर्शन गरेका थिए।
अमेरिकी सदनमा अहिले प्रहरी प्रशासन सुधार सम्बन्धी विधेयकमा छलफल भइरहेको छ।