कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ। उपचार गराइरहेका तीन जनामा कोरोना भाइरस संक्रमण देखिएपछि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको हाे।
३१ जेठमा सुर्खेतका १ र ३२ जेठमा दैलेखका दुई जना बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए।
दैलेखका दुई जना विरामीमध्ये एक जना विगत आठ महिनादेखि टिबीको बिरामी थिए। दैलेख र सुर्खेतका अर्का एक/एक जनाले भने विष सेवन गरेपछि उपचारका लागि आकस्मिक कक्षमा भर्ना गरिएको थियो।
सबै बिरामीको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दै आएकोमा बुधवार उनीहरु तीनै जनाको रिपोर्ट पोजेटिभ आएको थियो।
तीनै जनामा कोरोना पोजेटिभ देखिएपछि ४२ जना स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा बसेको छ।
प्रदेश अस्पतालका निर्देशक डा. डमर खड्काका अनुसार उनीहरुको नियमित परीक्षण र रेखदेखमा खटिएका स्टाफ नर्स र एचएसहित ४२ जना स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइन बस्नु परेको हाे।