थप भिडन्त नगर्ने मुडमा चीन र भारत

लद्दाख क्षेत्रमा हिंसात्मक झडप भएको दुई दिनपछि भारत र चीनका विदेश मन्त्रीबीच टेलिफोन वार्ता भएको छ।  

बुधबार भारतीय विदेश मन्त्रालयले भारतका विदेश मन्त्री एस जयंशकर र उनका चिनियाँ समकक्षी वाङ यीबीच उक्त वार्ता भएको हो।

टेलिफोन कुराकानीमा दुवै पक्षबीच सम्पूर्ण परिस्थितिलाई जिम्मेवार ढंगले सम्हाल्ने र ६ जुनको सहमति कार्यान्वयन गर्ने समझदारी पनि भएको विदेशमन्त्री जयशंकरलाई उद्धृत गर्दै जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ।

‘दुवै पक्ष ६ जुनको सहमति कार्यन्वयन गर्न र परिस्थितिलाई उत्तेजित पार्नेभन्दा पनि द्विपक्षीय सम्झौता र प्रोटोकलअनुसार शान्ति र संयम सुनिश्चित गर्न सहमत भएका छन्,’ विज्ञप्तिमा भनिएको छ।

भारतीय र चिनियाँ सैनिकबीच भएको पछिल्लो झडपमा एक अधिकृतसहित २० जना भारतीय सैनिकको मृत्यु भएको थियो। भारत र चीनबीच विगत एक महिनादेखि कायम रहेको तनाव बढ्दै गएर सोमबार पूर्व लद्दाखको गलवन उपत्यकामा साँझ हिंसात्मक झडपको रुप लिएको हो। 

चिनियाँ पक्षतर्फ भएको हताहतीको अझै विवरण आएको छैन। भारतीय पक्षले चीनतर्फ पनि ठूलो क्षति भएको दावी गरेको छ। घटनालाई लिएर भारत र चीन दुवैले एकअर्कालाई दोषारोपण गरेका छन्।

दुई देशका विदेशमन्त्रीबीच भएको कुराकानीमा सोमबार राती भएको भिडन्तका दोषीलाई कारबाही हुनुपर्ने र दुई देशका सरकारबीच भएको सहमतीले भारतीय सेनाले अवलम्बन गर्नुपर्ने चीनले माग गरेको छ।

चीनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बुधबारको मिडिया ब्रिफिङमा दुई देशबीच उत्पन्न विवाध कुटनीतिक र सैन्य माध्यमबाट समाधानको पहल भइरहेको बताएका छन्।

उनले भारतलाई आफ्ना अग्रपंक्तीका सेनालाई नियन्त्रण गर्न आग्रह गरेको बताउँदै आफ्नो भूमिमा अनधिकृत प्रवेश गरेको बताएको छ। झाओले भारतीय सैनिकसँग थप भिडन्त गर्ने पक्षमा चीन नरहेको बताएका छन्।

यता जयशंकरले भारतीयले घटनाप्रति विरोध जनाउँदै हिंसात्मक झडप हुनुमा चीनको सुनियोजित र योजनाबद्ध कदम जिम्मेवार रहेको बताएका छन्।

विज्ञप्तिमा भारतले पछिल्लो अस्वाभविक घटनाले दुईपक्षीय सम्बन्धमा ठूलो असर पर्नसक्ने चेतावनी पनि चीनलाई दिएको जनाइएको छ। 

साथै जयशंकरले कुराकानीका क्रममा चीनलाई आफ्ना कदमहरुको पुनर्समीक्षा र आवश्यक सुधारका कदमहरु चाल्न आग्रह गर्दै दुवै पक्षले एलओसीलाई सम्मान गर्नुपर्ने धारणा राखेको पनि बताइको छ।

प्रकाशित मिति: : 2020-06-17 19:02:51

प्रतिकृया दिनुहोस्