गण्डकी प्रदेशमा बुधबार थप २१ जनामा कोरोना पुष्टि भएको छ।
प्रादेशिक स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार नवलपरासी पूर्वका १८ जना र पर्वतका ३ जनामा कोरोना संक्रमण देखिएको हो।
नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाका १८ देखि ३६ वर्ष उमेरसमूहका १४ जना पुरुष, मध्यविन्दु नगरपालिकाका २ जना पुरुष, कावासोती नगरपालिकाका एक जना पुरुष र पालिका नखुलेका एक जनामा कोरोना पुष्टि भएको हो।
त्यसैगरी पर्वतको फलेवास नगरपालिकाका २ जना पुरुष र एक जना महिलामा कोरोना पुष्टि भएको हो।
संक्रमितहरु सबै भारतबाट फर्किएको र उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लगिएको निर्देशक शर्माले जानकारी दिए।
योसँगै गण्डकीमा संक्रमितको संख्या २ सय ४७ पुगेको छ।