सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल बुधबार दार्चुलातर्फ जाँदैछन्।
भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि सिर्जना भएको आक्रोशकाबीच कालापानी नजिकै बैशाख ३१ गते दार्चुलाको ब्यास गाउँपालिका १ छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ।
गृह मन्त्रालय स्रोतका अनुसार उनी बुधबार बिहान हेलिकप्टरमाफर्त् दार्चुला जान लागेको हो। र, खनाल छाङरुको निरीक्षणमा समेत पुग्ने जनाइएको छ।
स्रोत भन्यो, ‘उहाँ नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला जाँदै हुनुहुन्छ, नयाँ स्थापना गरिएको बीओपीमा पनि पुग्नु हुनेछ।’
यद्यपि, मौसममा समस्या आए सेनाको हेलिकोप्टर छाङरुसम्म जान सक्दैन। त्यसैले मौसम अनुसार खनालको भ्रमण कहाँसम्म हुन्छ भन्ने थाहा हुने स्रोतले बतायो।
विवादित कालापानी क्षेत्रबाट १२ किलोमिटर वर स्थापित बीओपीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दले गर्दैछन्। यही ठाउँमा नेपाल प्रहरीको चौकी पनि छ। यद्यपि, बाह्रै महिना सुरक्षाकर्मीको उपस्थिति भने यहाँ हुने गरेको छैन।
अहिले छाङरुमा सशस्त्र प्रहरी भाडाको घरमा बसिरहेको छ भने स्थायी संरचना पनि बनाउने तयारी छ। विगतमा ५८ जिल्लामा मात्र रहेको सशस्त्र प्रहरी बलको उपस्थितिलाई हाल ७७ जिल्लामा विस्तार भइसकेको छ।