दाङमा नेपाली सेनाका एक जवानमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्रोतका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको परीक्षणमा घोराही भरतपुरस्थित रिपुमर्दन गणमा कार्यरत ३२ वर्षीय जवानमा संक्रमण देखिएको हो ।
उनमा कोरोनाका कारण मृत्यु भएका घोराहीका एक व्यक्तिको शव व्यवस्थापनका क्रममा संक्रमण भएको आशंका गरिएको छ ।
‘रोजगारीका क्रममा भारतको दिल्लीमा मृत्यु भएका घोराही उपमहानगरपालिका १८ नवलपुर निवासी ५९ वर्षीय पुरुषको शव व्यवस्थापन गर्न खटिएका थिए,’ स्रोतले भन्यो,‘सोही बेला संक्रमण भएको हुन सक्छ।’
जवानसहितको नेपाली सेनाको टोलीले जेठ २६ गते शव व्यवस्थापन गरेको थियो ।
उनलाई कोरोना विशेष अस्पताल बेलझुण्डीको आइसोलेशनमा लगिएको छ ।