पीएलएका प्रवक्ता शुईलीकाे बयान: जानाजान चिनियाँ बललाई उक्साएपछि भारतीयमाथि हमला गर्‍याैं

भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखको गलवान क्षेत्रमा दुवै देशका सैनिकबीच भिडन्त हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको छ।

१५ र १६ जुनमा भएको भिडन्तमा भारतीय सेनाका एक अधिकारी र १९ जवानको मृत्यु भएकोभारतीय सेनाले मंगलबार राति अबेर यो जानकारी दिएको हो। सेनाका अनुसार दुबै देशका सैनिक झडपपछि गलवान क्षेत्रबाट पछि हटेका छन्।

भारतीय सेनाले भनेको छ, ‘भारत र चीनका सेना गलवान क्षेत्रबाट पछि हटेका छन्। १५ र १६ जुनको राति यहीँ दुवै देशका सैनिकबीच झडप भएको थियो। झडपमा १७ भारतीय सैनिक गम्भीर रुपमा घाइते भएका थिए। शून्य डिग्रीभन्दा पनि कम तापक्रम र धेरै उचाइ भएको इलाकामा गम्भीर घाइते भएका १७ सैनिकको मृत्यु भयो। यहाँ कूल २० भारतीय सैनिकको मृत्यु भएको छ। भारतीय सेना देशको अखण्डता र संप्रभुताको रक्षाका लागि प्रतिबद्ध छ।’ भारतीय सेनाले दुवै देशका वरिष्ठ सैनिक अधिकारी तनाव कम गर्ने विषयमा वार्ता गर्न लागेको पनि उल्लेख गरेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार पूर्वी लद्दाखमा भारत र चीनको सीमा अर्थात् लाइन अफ एक्चुअल कन्ट्रोलमा सोमबार दुवै देशबीच हिंसात्मक झडप भएपछि रक्षामन्त्री राजनाथ सिंहले मंगलबार आर्मी प्रमुखसहित समीक्षा बैठक आयोजना गरेका थिए।

संवादको बाटोमा अगाडि बढाउन चीनको आग्रह

यसैबीच चिनियाँ सेनाका कमाण्डरले पनि यो प्रकरणमा मुख खोलेका छन्।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार पिपुल्स लिबरेसन आर्मी (पीएलए) को पश्चिम कामाण्डका प्रवक्ता चाङ्ग शुईलीले विज्ञप्ति जारी गर्दै रतले कडाईका साथ आफ्नो सैनिकलाई रोक्नुपर्ने र विवाद अन्त्य गर्नका लागि संवादको बाटोमा अगाडि बढ्नुपर्ने बताएका छन्।  उनको सन्देश पीएलएको आधिकारिक वीबो अकाउन्टमा पोस्ट गरिएको छ।

चाङ्गले भनेका छन्, ‘भारतीय सैनिकले आफ्नो वाचा उल्लंघन गरेको छ र एकपटक फेरि नियन्त्रण रेखा पार गरेको छ। जानीबुझी चिनियाँ सेनालाई उक्साएर आक्रमण गरेको छ। जसका कारण दुवै पक्षबीच झडप भयो र यही नै हताहतीको कारण बन्यो। म माग गर्दछु भारतले आफ्ना सैनिकलाई कडाइका साथ रोकोस् र वार्तामार्फत् विवादलाई सुल्झाइयोस्।’

सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो। सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे पनि गोली नचलेको लामो समय भइसकेको थियो। तर एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो। दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने ६ जुनमा वार्ता पनि भएको थियो। तर सोमबार राति गोली हानाहान भएको छ।

चिनियाँ सेनाले यो घटनामा कति चिनियाँ सैनिक मरे भन्ने खुलाएको छैन। यद्यपि भारतले भने चीनतर्फ ४३ जना चिनियाँ सेनाको मृत्यु भएको दाबी गरेको एएनआइले जनाएको छ।

प्रकाशित मिति: : 2020-06-17 06:58:00

प्रतिकृया दिनुहोस्