भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा भएको झडपमा ज्यान गुमाउने तीन भारतीय सैनिकको परिचय खुलेको छ। मारिएका उच्च अधिकारी तेलंगना राज्यका कर्णेल सन्तोष बाबु हुन् भने अरू दुई जवानहरू तमिलनाडुका पलनी र झारखन्डका कुन्दन ओझा छन्।
विगत डेढ वर्षदेखि चीनको सीमा क्षेत्रमा कार्यरत १६ बिहार रेजिमेन्टका कर्नेल सन्तोषको परिवारमा पत्नी र दुई छोरा छन्। सोमबार दिउँसो भारतीय सेनाले छोराको मृत्यु भएको खबर दिएको उनकी आमाले बताएकी हुन्।
त्यस्तै, सोही भिडन्तमा मृत्यु हुनेमा तमिलनाडुकै ४० वर्षीय सैनिक जवान पलनी छन्। उनी विगत २२ वर्षदेखि भारतीय सेनामा कार्यरत थिए।
बीबीसी हिन्दीका अनुसार पलनीका भाइ पनि सेनामै कार्यरत छन्। उनले गएराति सेनाका कर्मचारीले आफूलाई फोन गरेर लद्दाखमा भएको झडपमा आफ्ना दाजुको मृत्यु भएको जानकारी दिएको बताएका छन्। तामिलनाडुका मुख्य मन्त्री ई.के. पलनीसामीले आफ्नो राज्यका जवानको मृत्यु भएकोमा दुख व्यक्त गरेका छन्।
मारिने अर्का जवान झारखन्डको साहिबगन्ज जिल्लाका कुन्दन ओझा हुन्। उनी बिहार रेजिमेन्टमा थिए।
उनी मारिएको खबर परिवारलाई फोनबाट दिइएको हो।
झारखन्डका पूर्व मुख्यमन्त्री बाबूलाल मराण्डीले जवान ओझाको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन्।
समाचारसंस्था एएफपीका अनुसार चीनले भारतलाई सीमा उल्लङ्घन गरेर चिनियाँ सैनिकमाथि आक्रमण गरेको आरोप लगाएको छ।
बीबीसी हिन्दीका अनुसार भारतीय सेनाले भारत-चीन सीमामा सोमवार राति भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको छ। भारतका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको हो।
यसैबिच उक्त घटनालाई लिएर चिनियाँ पक्षले भारतीय पक्षलाई दोष लगाएको छ।
चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार एकजना चिनियाँ सैन्य प्रवक्ताले भारतीय सेनाले 'वाचा तोडेर' सोमवार बेलुकी गाल्वान उपत्यकामा सिमानाको वास्तविक नियन्त्रण रेखा नाघेको अनि उक्साहटपूर्ण हमला गरेका कारण झडप र हताहती भएको मङ्गलबार बताएका छन्।
चिनियाँ जनमुक्ति सेनाको पश्चिम क्षेत्रीय कमाण्डका प्रवक्ता कर्नेल जाङ् शुइलीले गाल्वान उपत्यका क्षेत्रमा सधैँ चीनको सार्वभौमसत्ता रहेको भन्दै भारतीय सिमा फौजले दुवै देशबीच भएको सहमतिको गम्भीर उल्लंघन गरेको, सैन्य कमाण्डर तहमा भएको सहमति तोडेको तथा दुई सेनाको सम्बन्ध र दुई देशका जनताको भावनामा नोक्सानी पुर्याएको उल्लेख गरेका छन्।
उनले भारतले सबै किसिमका उक्साहटपूर्ण काम रोक्नुपर्ने र चिनियाँ पक्षसँग 'आधाबाटोमा मिल्नुपर्ने' अनि वार्तामार्फत् समस्या समाधानको सही मार्गमा फर्कनुपर्ने बताएका छन्।
भारतीय पक्षले यो घटनामा गोली नचलेको दाबी गरेको छ। स्थानीय सञ्चारमाध्यमले "भारतीय सैनिकहरूको कुटीकुटी हत्या गरिएको" विवरण प्रकाशित गरेका छन्। तर सेनाले यसको पुष्टि गरेको छैन।
केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ। चीनको ग्लोबल टाइम्स पत्रिकाका अनुसार चिनियाँ विदेशमन्त्रालयले विद्यमान विवादलाई वार्ताबाट समाधान गरिने र त्यसका लागि दुवै देश तयार भएको जनाएको छ।
भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ। तर धेरैपछि सैनिकको मृत्यु हुनेगरी सङ्घर्ष भएको हो। दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो। त्यसमा भारत नराम्ररी पराजित भएको थियो।
चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ। त्यसका लागि हजारौँ चिनियाँ सैनिक आएको उसको दाबी छ। सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका छैनन्। गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा हात हालाहाल भएको थियो।