भारत-चीन सेनाबीच झडप: लद्दाखबाट ३४ भारतीय सैनिक गायब, अवस्था अज्ञात

भारत र चीनका सेनाबीच लद्दाखको सीमा क्षेत्रमा भिडन्त हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ। भारत सरकारका अनुसार गलवान उपत्यकाको सीमाबाट सैनिक पछि हट्ने क्रममा सोमबार राति झडप भएको हो।

झडपमा एक उच्च सैन्य अधिकारी र दुई जवानको मृत्यु भएको छ। यस्तै थप ३४ जना भारतीय सेना हराइरहेको टेलिग्राफले जनाएको छ।

भारतीय सेनाका उच्च स्रोतहरूका अनुसार उक्त कुराको खुलासा भएको हो।, यद्यपि यो कुराको सरकारले पुष्टि गरेको छैन।

भारतीय सेनाले उक्त झडपको बारेमा दुवै पक्षको हताहत भएको बताएको छ।

‘गलवान उपत्यकामा हिजो सोमबारे राती दुबै पक्षको हताहतले हिंसात्मक रुप लियो,’,भारतीय सेनाको विज्ञप्तिमा भनिएको छ, ‘भारतीय पक्षका तर्फबाट एक उच्च एक अधिकारी र दुई सिपाहीहरूले ज्यान गुमाएका छन्।’

यता चीन सञ्चारमाध्यम ग्लोबल टाइम्सका एक वरिष्ठ रिपोर्टरले झडपमा ५ चिनियाँ सेना मारिएको र ११ जना घाइते भएको टुइट गरेका थिए तर चिनियाँ विदेश मन्त्रालयले भने यसबारेमा केही बोलेको छैन। 

ग्लोबल टाइम्सका सम्पादक हू झिजिनले ट्विटरमा पोस्ट गरेका छन्,‘ गालवान उपत्यकामा चिनियाँ पक्षसँग झडपमा हुँदा हताहत भएको थियो। म भारतीय पक्षलाई भन्न चाहन्छु, अहंकारी नहुनुहोस् र चीनको संयमलाई कमजोरको रूपमा नहेर्नुहोस्। चीन भारतसँग टकराव गर्न चाहँदैन, तर हामी यसबाट डराउँदैनौं।’

भारत–चीन सीमा रेखा क्षेत्रको गलवान उपत्यकामा पछिल्लो केही समयदेखि दुई देशका सेनाबीच तनावको अवस्था रहँदै आएको छ।  यता भारतीय सैनिकहरु चिनियाँ सीमा पार गर्दै घुसेपछि चिनियाँ सैनिकसँग झडप भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हउ लिजियनले मंगलबार जुन ६ मा दुवै पक्षबीच सहमतिमा सीमा विवाद समाधान गर्ने भनिएकोमा भारतीय सेनाले त्यसको उल्लंघन गर्दै चिनियाँ भूमीमा प्रवेश गर्दै गैरकानूनी गतिविधि गरेपछि कारवाही गरेको बताए। 

यसअघि रोयटर्समा लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको भारतीय दाबीलाई चीनले अस्वीकार गरेका थिए।

उनले मंगलबार चीन–भारत सीमामा कुनै झडप भएको बारेमा आफूहरुलाई थाहा नभएको बताएका थिए।

भारत–चीन सीमामा ४५ वर्षपछि पहिलो पटक दोहोरो झडपमा सैनिकको मृत्यु भएको हो।

१९६७ मा सिक्किममा भारत र चीनका सैनिक आमनेसामने भएका बेला ८० भारतीय सैनिक मारिएका थिए भने चिनियाँ सैनिकमा पनि हताहति भएको थियो। १९७५ यता भने दुई देशका सैनिकहरूले एकअर्काको ज्यान लिएका थिएनन्। 

चिनियाँ र भारतीय सेनाले सामान्यतया वास्तविक नियन्त्रण रेखामा हतियार बोक्दैनन्। तनाव बढाउनलाई पिल्लर वा लठ्ठीहरुको सहयतामा झडप भएको भने हुन सक्छ। 

स्थानीय सञ्चारमाध्यमले भारतीय सैनिकहरूको कुटीकुटी हत्या गरिएको विवरण प्रकाशित गरेका छन्। तर सेनाले यसको पुष्टि गरेको छैन।

केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ।

चीनको ग्लोबल टाइम्स पत्रिकाका अनुसार चिनियाँ विदेशमन्त्रालयले विद्यमान विवादलाई वार्ताबाट समाधान गरिने र त्यसका लागि दुवै देश तयार भएको जनाएको छ।
 

 

प्रकाशित मिति: : 2020-06-16 20:06:43

प्रतिकृया दिनुहोस्