‘फेस मास्क’ लगाउनु नै कोरोना संक्रमण सर्न नदिने सबैभन्दा प्रभावकारी उपाय: अध्ययन

बिएल संवाददाता

वासिङटन,डिसी

विभिन्न देशमा सरकारले लकडाउन खुकुलो पारेसँगै कोभिड–१९ संक्रमणको जोखिम बढेकाले घरबाहिर निस्किँदा मास्क अनिवार्य लगाउन विज्ञहरुले सुझाव दिएका छन्। मास्क लगाउँदा जोखिमबाट जोगिन सकिने उनीहरुको भनाइ छ। कोभिड–१९ संक्रमणका कारण विभिन्न मुलुकमा घरबाहिर निस्किँदा मास्क अनिवार्य गरिएको छ। 

टेक्सस र क्यालिफोर्नियाका अनुसन्धानकर्ताहरुको एक टोलीले पनि मास्क नै कोरोनाको संक्रमणलाई एक व्यक्तिबाट अर्कोमा सर्न नदिने उपयुक्त तरिका भएको बताएका छन्।

उनीहरुले  कोरोनाको इपिसेन्टर वुहान, चीन, इटली र न्युयोर्कमा संक्रमणको ट्रेन्डबारे अनुसन्धान गरेका थिए। उनीहरुले मास्क लगाउँदा र नलगाउँदाका संक्रमण दरको तुलनात्मक अध्ययन गरेका थिए। जसमा दुवै स्थलमा मास्क लगाउनु अनिवार्य बनाइएपछि मात्र संक्रमणको संख्यामा कमी आएको अध्ययनले देखाएको बताएका छन्।

सार्वजानिक स्थलमा ‘फेस मास्क’ लगाउनु नै मान्छेबाट मान्छेमा सर्न नदिने सबैभन्दा प्रभावकारी उपाय साबित भएको प्रतिवेदनमा उल्लेख छ।

घरबाहिर निस्किनेहरुमा धेरैजसोले कपडाको मास्क वा मेडिकल मास्क लगाइरहेका छन्। कसैकसैले एन–९५ जस्ता मास्कसमेत लगाउने गरेको भेटिन्छ। कोभिड–१९ विरुद्घको लडाइमा मास्कको उपयोग धेरै महत्त्वपूर्ण भए पनि यो मात्रै पूर्ण भने नरहेकाे उनीहरुल बताएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि कोभिड–१९ फैलन नदिन मास्क प्रयोग गर्नुपर्ने भनेको छ।  घर वाहिर निस्किँदा मास्क लगाउने, साबुनपानीले हात धुने, भौतिक दूरी कायम राख्नेजस्ता बानी विकास गर्नुपर्छ। डब्लूएचओका मुख्य वैज्ञानिक डा. शौम्या स्वामिनाथनका अनुसार भाइरस सबैभन्दा बढी मान्छेले खोकेर वा हाँक्ष्यु गर्दा सीधै अर्को व्यक्तिमा सर्ने गरेको पाइएको छ। 

उनले भनेकी छिन्, ‘कोभिड–१९ श्वासप्रश्वाससम्बन्धी भाइरस हो, यो माथिल्लो श्वासनलीमा रहन्छ। धेरैजसोमा पानीको थोपाजस्तै स–साना कण एकबाट अर्को व्यक्तिमा फैलिन्छ।’ 

उनका अनुसार संक्रमित व्यक्तिको मुख, नाकबाट निस्किने पानीको थोपा स्वस्थ व्यक्तिको हातमा पर्दा संक्रमण हुन्छ। यस्तो हातले पुन: आँखा, नाक, मुख छुँदा भाइरस शरीरमा प्रवेश गर्छ 

उनका अनुसार सामाजिक दुरी, क्वारेन्टाइन र आइसोलेसनले अर्को व्यक्तिसँग सम्पर्कमा आउन नदिने हुँदा संक्रमण दर न्युनिकरण गराउने तर हावा मार्फत हुन सक्ने संक्रमणबाट भने सुरक्षित राख्न नसक्ने बताइसकेकी थिइन्।

प्रकाशित मिति: : 2020-06-16 09:20:23

प्रतिकृया दिनुहोस्