कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका११ का ११ महिने कोरोना सङ्क्रमित बालक उपचारपछि महाकाली अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन् ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले कोभिड–१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकानुसार आइसोलेसन कक्षमा १४ दिन पूरा भई उपचारपछि निको भएपछि सुशांक सुनारलाई डिस्चार्ज गरिएको बताए ।
स्वास्थ्य आपतकालीन केन्द्र रामशाहपथको पत्रानुसार थप एक हप्ता होम आइसोलेसनमा बस्ने गरी डिस्चार्ज गरिएको उनले बताए।
अस्पतालको आइसोलेसनमा भर्ना भएका भीमदत्त नगरपालिका २ का ५० वर्षीय, महाकाली नगरपालिका ३ का ३८ वर्षीय र कागेश्वरी मनहरा नगरपालिका काठमाडौँका १८ र ३८ वर्षीय पुरुषलाई अस्पतालले आइतबार डिस्चार्ज गरेको थियो। अस्पतालमा ३० कोरोना सङ्क्रमित उपचाररत छन् ।