भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा अव लकडाउन नलम्बिने भएको छ ।
दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय राजधानीमा फेरि लकडाउन लागु पर्ने पक्ष र योजनामा आफु नरहेको सोमबार बताएका हुन् ।
‘आम नागरिकलाई लकडाउनले मर्कामा पारेको छ, दिल्लीमा फेरी लकडाउन लम्याउने मेरो योजना छैन,’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।
यसअघि केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा बसेको सर्वदलिय बैठकमा पनि यही बारेमा छलफल भएको थियो ।
केन्द्रीय राजधानी समेत रहेकाले केन्द्रीय सरकारले समेत चासो राखेर छलफल गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
बैठकमा मुख्यमन्त्री केजरीवालको पार्टी आम आद्मी पार्टी (आप)का सांसद संजय सिंह पनि सहभागी हुनुभएको थियो । बैठकमा विरामीहरुका लागि शैया संख्या बढाउने बारेमा पनि छलफल भएको थियो ।
भारतीय जनता पार्टी (भाजपा), भारतीय राष्ट्रिय काँग्रेस, आम आद्मी पार्टीका प्रतिनिधि र सरकारी उच्च अधिकारीहरु पनि बैठकमा सहभागी भएका थिए ।
बैठकमा लकडाउनलाई लम्याउने कि नलम्याउने, फैलिँदै गरेको कोरोनाभाइरसको सङ्क्रमणलाई कसरी न्युनिकरण गर्ने, अभाव वा समस्याहरु के के छन्लगायतका विषयमा पनि छलफल भएको थियो ।