व्यापक विरोध भएपछि मोटरसाइकलमा दुई जना यात्रा गर्न नपाउने नियम हट्याे

व्यापक विरोध भएपछि मोटरसाइकलमा दुई जना यात्रा गर्न नपाउने नियम हटेको छ ।

 गएको शुक्रबार मात्रै चार पाङग्रे निजी गाडीलाई जोर बिजोर र दुई पाङग्रेमा दुई जना यात्रा गर्न नपाउने नियम बनेको थियो । तर यो नियम अव्यवहारिक भन्दै विरोध बढेपछि दुई दिनमै सरकारले निर्णय सच्याएको हाे। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबारदेखि मोटरसाइकल र स्कुटरमा दुई जना नै यात्रा गर्न पाउने जनाएको छ । 

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिमप्रसाद ढकालले नागरिकलाई समस्या भएको गुनासो बढेसँगै यो नियम हटाएर दुई पाङग्रे गाडीलाई पनि जोर बिजोर अनुसार चलाउने निर्णय गरेको बताए ।

‘अव्यावहारिक र पालना गराउन गाह्रो हुनेभएपछि हामीले मोटरसाइकलमा दुई जना यात्रा गर्न पाउने व्यावस्था गरेका हौँ, सोमबार बिहानदेखिनै यो नियम लागू भइसकेको छ’, उनले भभने । 

उनका अनुसार चार पाङग्रे निजी गाडी जस्तै अब मोटराइसकल पनि जोर दिन जोर नम्बरका र बिजोर दिन बिजोर नम्बरका चल्ने छन् । प्रेस, ढुवानी लगायतका गाडीमा भने यो लागू हुने छैन ।

यस्तै, सरकारले अझै केही दिन सार्वजनिक गाडी भने चलाउन रोक लगाएको छ । कोरोना भाइरसको जोखिम बढिरहेकाले सार्वजनिक गाडी तत्काल चल्ने छैनन् । 

सरकारले चैत ११ गतेदेखि लकडाउन लागु गरेको थियो। बुधबारको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो।

सरकारले पैदल यात्रीलाई समेत सामाजिक दुरी पालना गर्न र सुरक्षित भएर हिँड्न आग्रह गरेको छ।

प्रकाशित मिति: : 2020-06-15 07:30:16

प्रतिकृया दिनुहोस्