यो देश भित्रका कयौं राज्यहरूले आफू एक स्वतन्त्र राज्य हुनुको स्वत्व गुमाउनु परेको पीडा अहिले पनि जनताहरुले खेपिरहेका छन्। बैरिका नजरमा कमाराको जस्तो जिन्दगी सयौं वर्ष बाँचिरहेका कर्णालीका जनताहरू अहिले पनि काठमाडौंदेखि डराउनु एक स्पष्ट उदारहण हो।
***
हाल सालै नेपाल सरकारले लिम्पीयाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको नयाँ नक्सा जारी गर्यौं। जुन संसदबाट सर्व सहमतिले पारित भइसकेको छ। जसका कारण उत्पन्न सीमा विवाद तथा सो यसले निम्त्याउन सक्ने सम्भावित युद्व र युद्वले खोज्ने सम्भावित बलिदान त छँदैछ।
यही बीचमा भएको पश्चिम रूकुमको चौरजहारी नगरपालिका ८ स्थित सोती गाउँमा नरसंहार भयो । जाजरकोट राना गाउँका एक कथित दलित युवकले सोती गाउँकी कथित मल्ल थरकी आफ्नी प्रेमिकासँगको डेढ वर्षदेखि चल्दै आएको प्रेमलाई वैवाहिक सम्बन्धमा फेर्ने कोशिस गरे। प्रेमिकाको आग्रहलाई स्वीकार्दै साथीहरु लिएर भगाउन जाँदा घटेको जातीय नरसंहारले ६ जनालाई घटनास्थलमै विभत्स हत्या गरेर भेरी नदीमा बगाइयो। अन्य १२ जना साथिलाई अंग भंग हुने गरी कुटियो।
यस्तो अवस्थामा पुलिसले सिठीमात्रै फुकेर बस्नु र काठमाडौंमा बसेर आफ्नो पुर्ख्यौली घर जाने बाटो नै बिर्सिसकेका तर सुस्ता, कालापानी, लिपुलेक, लिम्पीयाधुरा भन्ने बित्तिकै ग्वारग्वार माइतिघर मण्डलामा भेला हुने अराष्ट्रिय राष्ट्रवादी भेडाहरूले रुकुमको नरसंहारका विषयमा बोले आफ्नो जातै जान्छ कि भनेर डराइरहे।
आजको विषम परिस्थितिमा यो नेपालको राष्ट्रियता के का लागि? कसका लागि? भन्ने प्रश्न सर्वत्र उठ्नु स्वभाविकै हो।
नेपाली राष्ट्रियताको बनोट
कुनै पनि देशको राष्ट्रियता त्यस देशका साझा विश्वासका आधारहरुद्वारा निर्माण भएको हुन्छ। तर नेपालको सन्दर्भमा यसको ठिक उल्टो भएको छ। नेपाली राष्ट्रिताको आधारभूत तत्वहरूमा देशको भौगोलिक सिमाना, राष्ट्रियताको प्रतीक चिन्ह गाई, बहुसँख्यक समुदायहरुलाई जबरजस्त लादिएको हिन्दु धर्मलाई राष्ट्रियताको प्रतीकको रुपमा पुज्न बाध्य पारिएको छ। सरसर्ती हेर्दा यी अराष्ट्रिय तत्वहरुकै कारण नेपालको राष्ट्रियता भित्रभित्रै जोखिमको भुमरिमा छ। र यसलाई नेपालका बहुसंख्यक समुदायहरुले मौन रुपमा अस्वीकार गर्दै आइरहेका छन्।
नेपालको भौगोलिक सीमाना भन्नु नै गोर्खाका पृथ्वीनारायण शाह नामका एक सामन्तले आफ्नो इच्छा अनुसार बसिरहेका स–साना राज्यहरुलाई जोडि एउटा विशाल देशको मालिक बन्ने धुष्ट सपनाबाट निर्मित एक रक्तरञ्जित रेखा हो। जुन रेखा निर्माणमा कयौं साना तर स्वतन्त्र राज्यहरुले पतन हुनु परेको थियो। कयौं नारीहरुका चुल्ठा काटिएका थिए त कयौ नेवारहरुका नाक काटिएका थिए।
यो देश भित्रका कयौं राज्यहरुले आफू एक स्वतन्त्र राज्य हुनुको स्वत्व गुमाउनु परेको पीडा अहिले पनि जनताहरुले खेपिरहेका छन्। बैरिका नजरमा कमाराको जस्तो जिन्दगी सयौं वर्ष बाँचिरहेका कर्णालीका जनताहरु अहिले पनि काठमाडौंदेखि डराउनु एक स्पष्ट उदारहण हो।
देशको राष्ट्रियता निर्माणको अर्को तत्व हो राष्ट्रिय जनावर गाई। जसले हिन्दुत्वको प्रतिनिधित्व गर्छ। जसलाई नेपालमै केही जनताहरुले काटेर खान पाउनु पर्छ भन्दै सदियौंदेखि लडिरहेका छन्। अर्को राष्ट्रियताको अति नै हास्यास्पद तत्व हिन्दु धर्म, जो नेपालमा शताब्दियौं देखि मानिदै आइएको किरात शैव, मष्टो पुजक आदि जस्ता आदिम धर्म भन्दा हजारौं वर्ष कान्छो छ। साथै उत्तर भारतमा हिन्दु धर्मको पत्तासाप गर्ने गरी चलाईएको मुस्लिम जेहाद (धार्मिक युद्व) बाट उन्मुक्ति पाउन भागेर आएका भगौडा ब्रह्माणले ल्याएर पछि नेपालका शासकहरुलाई रिजाइ शासकहरुका आशिर्वादबाट स्थापित धर्म हो।
नेपालमा यस्ता कयौं राष्ट्रियता निर्माणका तत्वहरू छन् जसले वास्तवमै नेपालका आदिबासी, जनजाति, दलित महिला लगाएतका अन्य सिमान्तकृत समुदायलाई ठाडै अवहेलना गर्छन्। त्यसैले माक्र्सवादी चिन्तक आहुति नेपालको राष्ट्रियताको परिभाषा नै परिवर्तन गर्नु पर्ने तर्क बारम्बार अघि सार्ने गर्छन्।
राष्ट्रियताको लाभांश वितरण
राष्ट्रियताको लाभांश वितरणको कुरा जहाँसम्म आउँछ, यदि पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियानको प्रारम्भिक चरणमा बिसे नगर्चीले आर्थिक, हातहतियार लगाएतका जिन्सी सामग्रीको सहयोग नगरेको भए के उनको नेपाल एकिकरणको महत्वाकांक्षी योजना सफल हुँदो हो? आज पृथ्वी नारायणलाई राष्ट्र निर्माता मान्नेहरुले बिसे नगर्चिलाई किन बिर्से?
यो देशमा प्रजातन्त्र ल्याउनका खातिर सम्पूर्ण दलित समुदायले प्राणको आहुति नदिएको भए? यदि २०५२ सालबाट सुरु भएको माओवादी जनयुद्वको सुरुवातमै दिल बहादुर रम्तेल नामको बालकले आफ्नो कलिलो जोवनको बलि नचढाउँदो हो त, यदि खड्क बहादुर विश्वकर्माहरुका एकै घरबाट पाँचपाँच जना सहिद नहुँदा हुन् त प्रचण्डहरु कसरी श्री ६ प्रचण्ड बन्दा हुन्?
यसै प्रसंगमा कर्णाली प्रदेशका सांसद दानसिंह परियारले बारम्बार भन्ने गरेको उक्ति सम्झीन्छु। उनी भन्ने गर्छन्, ‘यो देशको सम्वृद्धिका लागि, यो देशको मुक्तिका लागि दलित समुदायले कोटो पुग्ने गरि बलिदानि दिएको छ। यो देशको राष्ट्रियतालाई मजबुत बनाउने सन्र्दभमा सामन्तहरु भन्दा दुई थोपा बढी रगत दलित समुदायले बगाएको छ।’
तर, जँहासम्म त्यही राष्ट्रियताको लाभांश वितरणको कुरा उठ्ने गर्छ, कुनै न कुनै बहानाबाजी गरेर यहाँका दलित, जनजाति, महिला, मुस्लिम, आदिलाई पाखा लगाइन्छ। फेरि खड्क बहादुर विश्वकर्मा जस्ता दलित अगुवाहरुलाई उग्र वामपंथिको विल्ला भिराई जंगल पस्न विवश पारिन्छ। जब संविधान सभा मार्फत देशमा संविधान निर्माण हुन्छ, व्यवहारमा त्यही संविधानद्वारा दलितहरुका घाँटी रेटिन्छ।
इतिहासले दलित माथि गरेको ऐतिहासिक भुल स्वरुप जब संविधानले नै राज्यका सबै तहमा समानुपातिक समावेशी प्रणालीको खाका कोरिन्छ तर लालबाबु जस्ताहरुको बाहुनवादी चिन्तकले लोक सेवा आयोगमा छुट्याइएको दलित कोटा काट्छन्। के दलितहरुले इतिहासदेखि नै देशभक्तिका नाममा चढाएको बलिदानिको उपहार भनेको स्थानीय चुनावमा एक जाबो दलित महिला सिट नै हो? के यो राष्ट्रिय लाभांशको न्यायोचित वितरण भयो?
दलितहरूकै भोटबाट चुनाव जितेका वडा अध्यक्षले नै जातीय नरसंहार मच्चाउँछन्। खाडीबाट दलितहरुले नै पठाएको रेमिट्यान्सबाट तलब खाने पुलिसले नै मान्छे मारिदा सिठी फुकेर अझै अरु पनि मार भन्ने संकेत गर्छ। अब बुज्रुकहरुले आफैं सोचुन् यो भन्दा बढि राष्ट्रियता मरहेको इतिहास भेटिएला?
हामीले सामाजिक सञ्जालमा सुस्ता, कालापानी, लिपुलेख र लिम्पीयाधुराको बारेमा जति कुरा गरे पनि यो देशको राष्ट्रियता भेरि नदिले बगाएर लगिसकेको छ। विश्व नै एउटा विशाल घर मान्न सक्ने आजको ग्लोबल दुनियाँमा मान्छेको हत्या भन्दा भौगोलिक सिमानाका पछि दौडिनु बेतुकको बुद्धि हो।
के प्रचलित कानुनको बर्खिलाप हुने गरी दिनदहाडै हुलका हुल मान्छेहरुको हत्या हुनु, देशको राष्ट्रियता भित्र पर्दैन? कि मेरो तथाकथित राष्ट्र नै मरिसक्यो? रगत बगाउनुपर्ने बेला मात्रै सम्झिने तर लाभांश वितरणको बेला सधै ऋणात्मक प्रतिफल दिने यो धोकेवाज राष्ट्रियताको पछि लागेर समय खेर फाल्नु कम्तीमा दलित समुदायका लागि हावाको विषय हो।
हामी आफ्नै घर भित्रै असुरक्षित छौं। देशमा रहेका प्राकृतिक श्रोत र साधनमा न्यायोचित पहुँच छैन। किन बाहिरियाबाट यो देश बचाउने चिन्ता लिने? मेरो विचारमा यही सोचनीय प्रश्न हो। वास्तवमै भन्नुपर्दा हिन्दु अतिवादी ब्राह्मणवादबाट पूर्णतया निर्देशित तथा ऐतिहासिक रुपमै एउटालाई लुटेर अर्कोलाई मारेर निर्माण भएको नेपालको तथाकथित राष्ट्रवाद यहि राष्ट्रभित्र नै अराष्ट्रिय र निन्दनीय छ।
(लेखक चर्चित नाटक गर्भछिटा र पम्फ फूलका लेखक तथा निर्देशक हुन्)