दैलेखको एक आइसोलेसनमा बसेका नागरिक र प्रहरीबीच झडप हुँदा चार जना घाइते भएका छन्। शनिवार नारायण नगरपालिका दैलेख बजारको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा बसेका पीसीआर पोजेटिभ नागरिक र प्रहरीबीच झडप भएको हो।
महिनौँदिन पुग्दा पनि पुनः स्वास्थ्य जाँच नगरिएको, पीसीआर र आरडीटी पोजेटिभलाई एकै ठाउँमा राखिएको, खानपिनकोे राम्रो व्यावस्थापन नभएको भन्दै संक्रमितले आन्दोलन गरेका हुन्।
आइसोलेसनमा बसेका पीसीआर पोजेटिभ घर जान खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरी स्थिति नियन्त्रणमा लिएको दैलेखका प्रहरी प्रमुख हरीबहादुर वलीले बताए। प्रहरीको कुटाइबाट एक जना घाइते भएका छन् भने तीन जना सामान्य रहेका छन्। उनीहरु चार जनालाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय लगिएको छ।
त्रिभुवन माध्यमिक विद्यालयको आइसोलेसनमा करिब ३४ जना पीसीआर पोजेटिभलाई राखिएको छ। केही दिन अगाडि उक्त विद्यालयको क्वारेन्टाइनमा राखिएकाले पानीसमेत नपाएको भन्दै आन्दोलन गरेका थिए।