सिन्धुपाल्चोकमा धमाधम कोरोना बीमा गर्दै जनप्रतिनिधि

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकाका जनप्रतिनिधिले कोरोना भाइरसको बीमा धमाधम गर्न थालेका छन्। 

स्थानीय सरकारका जनप्रतिनिधिले जनतासंँग प्रत्यक्ष रुपमा घुलमिल रहने भएकाले कोभिड १९ सङ्क्रमणको खतरा हुने जनाउँदै उनीहरुले कोरोना बीमा धमाधम गर्न थालेका हुन्।

 गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङको व्यक्तिगत खर्चमा ५७ जनप्रतिनिधि तथा गाउँपालिकाको कोरोना कोषबाट ७२ कर्मचारीको रु एक लाखको कोरोना बीमा गराएको गाउँपालिकाले जनाएको छ। 

अध्यक्ष तामाङका अनुसार कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि अग्रपङ्क्तिमा खटिएका जनप्रतिनिधि र कर्मचारीको मनोबल उच्च बनाइ राख्न उनीहरुको बीमा गरेको हो। 
    
आइएमई जनरल इन्स्योरेन्समा कर्मचारी र जनप्रतिनिधि गरी १२९ जनाको रु एक लाखबराबरको एक वर्ष अवधिको बीमा गरेको अध्यक्ष वंशलाल तामाङले जानकारी दिए। वडा नं १० का जनप्रतिनिधिको भने वडाध्यक्ष जीवन थापामगरले बीमा गरिसकेका छन्।

प्रकाशित मिति: : 2020-06-13 15:55:19

प्रतिकृया दिनुहोस्