सूर्जे बहादुर र भोकको गीत

लक्ष्मण देवकोटा

जेनेभा स्विटजरल्याण्ड

हजारौं उकाली ओराली गरेको

यही ढुँगेबाटो

हजारौँ गीतहरू सुसेलेको

यही पाटी र चौतारो

आज मेरा भोकका गीतहरु

उराठलाग्दो गर्मीको दिनसँगै

अनन्त गर्तमा बिलाइगएछ

मेरा अनन्त आवाजहरुको साथी

यही मेरो नाम्लोको सिरानीमा

समृद्धिको नाराले थकित भएर

दन्किरहेको भोकको ज्वालामा जीवन

टुँगिएछ सधैका लागि

रोकिएछ सधैका लागि

***

छोराहरु मुगलान पसे

फर्केनन्

बुहारीहरु छोराहरु नफर्केपछि

नफर्कने गरी गए

तिनीहरु पनि फर्केनन्

नेताहरु शहर पसेपछि फर्केनन्

खोलाहरु बग्दै गएपछि फर्केनन्

यहाँ कोही फर्कन्न हिँडेको मान्छे

ठ्याक्कै जोबनको चोला जस्तो

आज भोलि फर्कन्न

पर्सि भोलि फर्कन्न

***

भन्न त गरिबका गीत गाउने ब्यापारीहरु

कोही भोकै मर्नुपर्दैन भन्छन्

मेरो फाटेको टोपीको गीत गाउँदा गाउँदै

शीरमा मुकुट पहिरिएकाहरु

अब कसैको हर नाँगो रहँदैन भन्छन्

तर सूर्जे बहादुर दाइ भात खानुभयो ?

भनेर मलाई अझसम्म कसैले सोधेन

सूर्जे बहादुर दाइ

तिर्खा लाग्यो कि भनेर कसैले सोधेन

***

सोध्ने थिइ यौटी

जोसँग सोध्नका लागि सधै प्रश्नहरुको चाँग हुन्थ्यो

कहाँ गएर आएको

किन गएको

कोसँग गएको

कुकुरको मूत किन खाएको

म उत्तरमा सधै फिस्स हाँस्थेँ मात्र

उसका प्रश्नहरुमा जीवन थियो

उसका कर्कश प्रश्नहरुमा मधुरता थियो

उसका प्रश्नहरुमा लय थियो

छन्द थियो र

थियो बाँच्नुको सार्थकता

तर एकदिन

मैले सोध्नै नपाई

उसले सारा प्रश्नहरुको दैलो बन्द गरी

मैले डाक्टरलाई सोधेँ

डाक्टरले मलाई सोधे

मैले छिमेकीलाई सोधेँ

छिमेकीले मलाई सोधे

औषधी किन्ने पैसा मसँग किन भएन ?

मैले आफैसँग सोधिरहेँ

मेरो देश भने पनि

मेरो भेष भने पनि

मेरो आधार भने पनि

मेरो विश्वास भने पनि

बाँचेको यही यौटा नाम्लोसँग सोधेँ

के मेरो भोक र

कहिल्यै नफर्कनेगरी जानेको औषधीसँग

मेरो देश कतै जोडिएको हुन्छ ?

तिम्रो अभिमानको चुच्चो र

देशको स्वाभिमानी नक्शाको चुच्चोसँग

कतै मेरा आन्द्राभूँडीको गुजुल्टो जोडिएको हुन्छ ?

के देश तिम्रो नाक मात्रै हो ?

के देश सपनाहरुको लस्कर मात्रै हो ?

कि देश

मेरो भोक पनि हो

कि देश मेरो शोक पनि हो ?

***

पैतालाहरू गरुँगा भए

मन त हलुँगै थियो

रहरहरु हराएको उहिल्यै हो

बाटाहरु लामा भए

हिँडिरहेकै बाटो थियो

धमिलो धुवाँभित्र हराउने हिमाल

मुस्कुराइरहेकै थियो

सोँच्थेँ

यही बरियो जस्तै बलियो पार्नेछु मन

जेलिएका

ठ्याक्कै नाम्लोको थाप्लो जस्तै जेलिएका

जीवनका हजार इच्छाहरु

यही नाम्लोले थिचिरह्यो सधैभरी

***

बरियोको अडेसमा

मैले जीन्दगीका सबै गीतहरु बिसाइदिएँ

केवल बजिरह्यो यौटा भोकको गीत

तिमी लेख्दैगर गरीबका कथाहरु

गाउ बेस्सरी जोड जोडले

र जोड अलि धेरै घडेरी र बँगलाहरु

पढाउ आफ्ना नानीहरुलाई महँगा कलेजहरुमा

आउने चुनावमा अलि गतिलो घोषणा पत्र लेख्नुपर्छ

त्यसैले भोकाहरु रहिरहनुपर्छ गाउँवस्तीमा

पुलहरु शिलान्यास हुनुपर्छ

सुरुँगहरुको अध्ययन भैरहनुपर्छ

बन्नुभने हुन्न

बरु टावर बनाउ

हेर्नुपर्छ भोका मान्छेका धुवाँ ननिस्किएका धूरीहरु

अनि डकार्दै सुकिलो निदाउनुपर्छ

अस्पताल र स्कूलहरु बेपारीहरुलाई बुझाउनू

ताकि तिम्रा नानीहरुले बुझुन् सानैदेखि पैसाको महत्व

***

अब यो निधार पनि चाउरी पर्नेछैन

किनभने भोकको गीतले म अघाइसकेको छु

अब यो छाती पनि दुख्नेछैन

पीडा सबै पचाइसकेकोछु

खाउ खुब खाउ

अझ मस्त खाउ

विगत खायौ

वर्तमान खाँदैछौ

भविष्य पनि खाउ

 

ज्यूँदा मानिसहरुले त कहिल्यै प्रश्नगर्ने छैनन्

तर यो नाम्लोले भने सधै सोधिरहनेछ

म सधै रुझेर पनि यो मान्छेको भोक किन मरेन होला ?

प्रकाशित मिति: : 2020-06-13 16:40:00

प्रतिकृया दिनुहोस्