नेपाल-भारतबीच अत्यन्त घनिष्ठ सम्बन्ध छ र रहिरहनेछ : भारतीय सेनाप्रमुख

बिएल संवाददाता

नयाँदिल्ली

भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेले नेपाल-भारतबीच घनिष्ठ सम्बन्ध रहेको र भविष्यमा पनि रहिरहेने बताएका छन्।

देहरादुनस्थित भारतीय सैनिक एकेडेमीमा आयोजित एक कार्यक्रममा नेपाल र भारतबीचको पछिल्लो सीमा विवादलाई लिएर राखेको जिज्ञासामा नरवणेले त्यस्ता धारणा राखेका हुन्। ‘हामीहरुको नेपालसँग अत्यन्त घनिष्ट सम्बन्ध छ। हामीहरुबीच भौगोलिक, सांस्कृतिक, ऐतिहासिक र परम्परागत सम्पर्क छ। जनस्तरमा पनि त्यत्तिकै बलियो सम्पर्क छ। हामीबीचको सम्बन्ध सधैँ बलियो रहँदै आएको छ र भविष्यमा पनि रहिरहनेछ।’ 

यसअघि जेठ २ मा भारतीय सेनाप्रमुख मनोजमुकुन्द नरवणेले चीनतर्फ संकेत गर्दै सीमासम्बन्धमा यसअघि कुनै विवाद नरहेकोमा नेपालले ‘अरु कसैको इसारामा’ विरोध गरेको बताएका थिए।

नरवणेको उक्त टिप्पणीप्रति नेपाल सरकार र जनस्तरबाट समेत कडा विरोध हुँदै आएको छ। यता भारतमा पनि त्यसप्रति असन्तुष्टि व्यक्त गरिएको थियो।।

भारतले २६ वैशाख नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्रयाकको उद्घाटन गरेयता नेपाल र भारतबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ। भारतका रक्षामन्त्री राजनाथ सिंहले वैशाख २६ गते भिडियो कन्फरेन्समार्फत् पिथौरागढबाट लिपुलेक जोड्ने करिब ८० किलोमिटर सडकको उद्घाटन गरेका थिए।

यसबीच नेपालले सन् १८१६ को सुगौली सन्धिलाई आधार बनाएर लिम्पियाधुरासम्मको भूभागलाई समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरिसकेको छ। सार्वजनिक नयाँ नक्साअनुरुप निसान छापमा परिमार्जन गर्नका लागि शनिबार संविधान संशोधन हुने कार्यक्रम जारी रहेकाे छ। संविधान संशोधनप्रति विशेष चासो राखिरहेको भारतले नेपालले सार्वजनिक गरेको नक्सा आफूलाई आमान्य हुने बताउँदै आएको छ।

यस्तै उनले चीन र भारतको सीमामा अहिले स्थिति पूर्णतः नियन्त्रणमा रहेको पनि बताए। ‘कोर कमाण्डर स्तरमा कुराकानी भएको छ र स्थानीय स्तरमा समकक्षी स्तरमा बैठक भइरहेको छ’, उनले भने।

प्रकाशित मिति: : 2020-06-13 15:02:09

प्रतिकृया दिनुहोस्