अमेरिकामा २७० को अंकगणित सुरू भएको छ। हात्ति या गधा जसले कलेज इलेक्ट्रोल भोट भनिने यो जादुमयी अंक पार गर्छ, उही अमेरिकाको ४६औं राष्ट्रपति हुनेछ।
हात्ति रिपब्लिकन दलको चुनाव चिन्ह हो भने गधा डेमोक्रेटिक दलको। हात्ति रातो छ भने गधा नीलो। अब अमेरिमा नोभेम्बर ३ सम्म कि रातो हात्ति लम्कन खोज्छ कि नीलो गधा चम्कन। हात्ति लम्कदा डोनल्ड ट्रम्प र गधा चम्क्यो भने जो बाइडन अमेरिकाको ४६औं राष्ट्रपति हुने हुन्।
डोनल्ड ट्रम्प हात्ति र जो बाइडन गधा लिएर यो अंकगणितको खेलमा सहभागी हुने निश्चित छ। त्यसका लागि आवश्यक प्राइमरी डेलिगेट अंक दुबैले पार गरिसके पनि त्यसको औपचारिक घोषणा हुन आआफ्नो दलको राष्ट्रिय सम्मेलन पर्खदैेछन्।
डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलन अगष्ट १७ देखि २० सम्म विस्कन्सिन राज्यको मिल्वाउकीमा हुदैछ भने त्यसको चार दिनपछि अगष्ट २४ देखि २७ सम्म रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलन नर्थ क्यारोलाइनाको स्यार्लोटमा हुदैछ। तर, ट्रम्पले नामांकन स्वीकार भने फ्लोरिडाको ज्याक्सनभिलमा गर्नेछन्। यी दुबै सम्मेलनको मुख्य एजेण्डा भनेकै राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेद्वारको औपचारिक घोषणा मात्र हो। बाँकि, चुनावी रणनीति, योजना र कार्यक्रमका बारेमा छलफल हुने भनिए पनि राष्ट्रपति उम्मेद्वारले प्रस्तुत गर्ने कार्यक्रमको अनुमोदन गर्ने मात्र गरिन्छ। खासै नयाँ कुरा केही नहुने भएकाले यी सम्मेलन ज्याम्बोरी जस्ता मात्रै लाग्छन् ।
अमेरिकामा बढी मत ल्याउनेले जित्छ भन्ने निश्चित छैन । जित्नका लागि २७० इलेक्ट्रोल कलेज मत जित्नुपर्छ। अमेरिकाका ५० राज्यलाई ५३५ र राजधानी डिस्ट्रिक्ट अफ कोलम्बियालाई ३ इलेक्ट्रोल कलेज भोट दिइएको छ। अमेरिकाको संविधाननको धारा २ खण्ड १ मा इलेक्ट्रोल कलेज भोटको व्यवस्था गरिएको छ। त्यसमा समय समयमा साना मसिना परिवर्तन गरिए पनि सारमा यसमा कुनै परिवर्तन गरिएको छैन। यो आफैमा एक जटिल निर्वाचन प्रणाली हो। यो प्रणाली फेर्न डेमोक्रेटिक पार्टीले बेला बेलामा कुरा उठाए पनि रिपब्लिकन पार्टी त्यो सुन्नै नचाहने भएपछि संविधान संशोधन सम्भव भएको छैन।
सन् २०१६ को निर्वाचनमा डोनल्ड ट्रम्पले ३०४ इलेक्ट्रोल कलेज मत जित्दा हिलारी क्लिन्टन २२७ मै सिमीत भइन्। ट्रम्पले टेक्सासका २ इलेक्ट्रोल कलेज मत पाएनन् भने हिलारीले हवाइको १ र वासिङ्टनका ४ गरी ५ इलेक्ट्रल मत पाइनन् । उनीहरूले केही कारण देखाएर अरूलाई नै मत दिए।
अमेरिकामा हात्ती र गधाबीच २७० को अंकगणितीय रेस सुरू भएको छ। आगामी नोभेम्बर ३ मा जस्ले यो जादुमयी आँकडा पार गर्छ, उसैले जित्ने हो चार वर्षका लागि ह्वाइट हाउस। यो २७० को खेलमा गधाका लागि ३८ र हात्तीका लागि ६५ को मात्र खास खेल हुन्छ, बाँकि त उनीहरुका लागि लगभग 'डिफल्ट' जस्तै छ।
अमेरिकाको चुनावमा रातो र नीलो रङको प्रयोग गरेर कुन राज्य कस्तो छ भनेर जनाइन्छ। यसरी जनाउन पाँच खाले रङ प्रयोग हुन्छ। गाढा रातो, फिक्का रातो, गाढा नीलो, फिक्का नीलो र सुन्तले । यीमध्ये गाढा रातोले रिपब्लिकन र र गाढा नीलोले डेमोक्रेटिक पार्टीको गढ जनाउँछन्। ती राज्यमा अपवाद बाहेक विरोधी पार्टीले जित्ने सम्भावना नै हुदैन। गाढा रातो राज्यको संख्या २० छ र ती राज्यबाट १२५ कलेज इलेक्ट्रोल मत रिपब्लिकन राष्ट्रपति उम्मेद्वारले पाउँछन्। ती राज्यमा अलावामामा ९, अलास्कामा ३, अर्कान्सासमा ६, आइडाहोमा ४, इण्डियानामा ११, कान्सासमा ६, केन्टकीमा ८, लुजियाना ८, मिसिसिपिमा ६, मिजौरीमा १०, मोन्टानामा ३, नेब्रास्कामा ४, नर्थ डकोटामा ३, अक्लोहामा ७, साउथ क्यारोलाइनामा ९ , साउथ डकोटामा ३, टेनेसीमा ११, उटाहमा ६, वेस्ट भर्जिनियामा ५ र व्योमिङमा ३ कलेज इलेक्ट्रोल मत रहेका छन्।
यसैगरी १५ गाढा नीला राज्य रहेका छन् जसबाट डेमोक्रेटिक राष्ट्रपति उम्मेद्वारले १९० कलेज इलेक्ट्रोल मत पाउँछन्। ती राज्यमा क्यालिफोर्नियाबाट ५५, कनेक्टिकटबाट ७, डेलावरबाट ३, डिस्ट्रिक्ट अफ कोलम्बियाबाट ३, हवाइबाट ४, एलिनोयबाट २०, मेनबाट ३, मेरिल्याण्डबाट १०, मासाचुसेट्सबाट ११, न्युजर्सीबाट १४, न्यु मेक्सिकोबाट ५, न्युयोर्कबाट २९, ओरेगनबाट ७, रोड आइल्याण्डबाट ४, भर्मन्टबाट ३ र वासिङ्टनबाट १२ कलेज इलेक्ट्रोल मत छानिन्छन्।
यसैगरी दोस्रो थरिका राज्य डेमोक्रेटिक र रिपब्लिकन पार्टीतिर ढल्केका हुन्छन्। विभिन्न कारणले तिनीहरूले त्यस्तो रूझान देखाउँछन्। रिपब्लिकन पार्टीतिर ढल्केका चार राज्य र एक कंग्रेसनल डिस्ट्रिक्ट रहेका छन्। यस्ता खालको राज्यमा ८० इलेक्ट्रोल कलेज भोट रहेका छन्। तीमध्ये जर्जियामा १६, आयोवामा ६, ओहाइइोमा १८, टेक्सासमा ३८ र मेनको सेकेण्ड कंग्रेसनल ड्रिस्ट्रिक्टमा १ इलेक्ट्रोल कलेज भोट बाँडिएको छ।
यसैगरी डेमोक्रेटिक पार्टीतिर ढल्केका ५ राज्य छन्। ती राज्यमा ४२ इलेक्ट्रोल कलेज भोट रहेका छन्। ती राज्यमध्ये कोलोराडोमा ९,मिन्नेसोटामा १०, न्यु ह्याम्पसायरमा ४, नेभादामा ६ र भर्जिनियामा १३ इलेक्ट्रोल कलेज भोट रहेको छ।
माथिका राज्यमा अपवादलाई छोडेर डेमोक्रेटिक र रिपब्लिकन पार्टीले नै जित्छन्। त्यसरी जित्दा डेमोक्रेटिक पार्टीको पक्षमा २३२ र रिपब्लिकन पार्टीका पक्षमा २०५ इलेक्ट्रोल कलेज भोटको जोहो हुन्छ। चुनाव भनेको खासमा डेमोक्रेटिक उम्मेद्वारलाई बाँकि ३८ र रिपब्लिकन उम्मेद्वारलाई ६५ इलेक्ट्रोल कलेज भोट जित्नका लागि मात्र हुन्छ भन्दा पनि हुन्छ ।
बाँकि मतको जोहो उम्मेद्वारले ब्याटलग्राउण्ड स्टेट्स भनिने ६ राज्यमा बाँडिएका १०१ इलेक्ट्रोल कलेज भोटबाट गर्नुपर्ने हुन्छ । ती राज्यमध्ये एरिजोनामा ११,फ्लोरिडामा ३९, मिचिगनमा १६,नर्थ क्यारोलाइनामा १५,पेन्सेल्भेनियामा २० र विस्कन्सिनमा १० इलेक्ट्रोल कलेज भोट रहेका छन्।
२०१६ को चुनावमा राष्ट्रपति ट्रम्पले एरिजोना,फ्लोरिडा, मिचिगन, पेन्सेल्भेनिया, विस्किन्सन, ओहायो, र आयोवा आफ्नो पक्षमा पारेर राष्ट्रपति जिते। यसअघि २०१२ मा यी सबै राज्यमा बराक ओबामा विजयी भएका थिए। हिलारी क्लिन्टनले भने यसअघि जितेका राज्य पनि जोगाउन सकिनन्, रिपब्लिकन राज्यको पासा पल्टाउने कुरा त धेरै टाढाको भयो।
अहिलेसम्मको स्थिति हेर्दा एरिजोना (११), मिचिगन (१६), पेन्सेल्भेनिया (२०) र विस्कन्सिन (१०) बाइडनको पक्षमा फ्लिप हुने सम्भावना देखिएको छ। यदि यस्तो भयो भने बाइडन २८९ कलेज इलेक्ट्रोल मतका साथ विजयी हुनेछन्।
बाइडनलाई जित्नका लागि ब्याटलग्राउण्ड राज्यका १०१ मध्ये ३८ कलेज इलेक्ट्रोल मत मात्र थप्नुपर्ने भएकाले उनलाई सहज छ। जबकि राष्ट्रपति ट्रम्पले थप ६५ कलेज इलेक्ट्रोल मत जोहो गर्नुपर्ने भएकाले उनले अधिकांश राज्य जित्नैपर्ने हुन्छ।
अमेरिकामा पछिल्लो समय गरिएका अधिकांश राष्ट्रिय जनमत सर्भेक्षणले बाइडन अगाडि रहेको देखाए छन्। यो अग्रता सिधै कलेज इलेक्ट्रोल मतमा परिवर्तन हुने हैन। यसले दिने भनेको वर्ड-अफ-माउथ हो । र, यसले ब्याटलग्राउण्ड राज्यमा जीत निकाल्न पनि सहयोग गर्छ।
अहिलेको स्थिति हेर्दा बाइडनको पक्षमा २७० को अंकगणित सहज देखिदैछ। तर, नोभेम्बर ३ आउन धेरै दिन बाँकि भएकाले मौसमजस्तै छिनछिनमा मन परिवर्तन भैरहने अमेरिकामा अहिले नै यसै भन्न सकिन्न।
गाढा राता रिपब्लिकन राज्य:
अलावामा ९
अलास्का ३
अर्कान्सा ६
आइडाहो ४
इण्डियाना ११
कान्सास ६
केन्टकी ८
लुजियाना ८
मिसिसिपि ६
मिजौरी १०
मोन्टाना ३
नेब्रास्का ४
नर्थ डकोटा ३
अक्लोहामा ७
साउथ क्यारोलाइना ९
साउथ डकोटा ३
टेनेसी ११
उटाह ६
वेस्ट भर्जिनिया ५
व्योमिङ ३
जम्मा : १२५
फिक्का-राता रिपब्लिकन रूझानका राज्य:
जर्जिया १६
आयोवा ६
मेन सेकेण्ड कंग्रेसनल ड्रिस्ट्रिक्ट १
ओहाइो १८
टेक्सास ३८
जम्मा : ८०
गाढा नीला डेमोक्रेटिक राज्य:
क्यालिफोर्निया ५५
कनेक्टिकट ७
डेलावर ३
वासिङ्टन डीसी ३
हवाइ ४
एलिनोय २०
मेन ३
मेरिल्याण्ड १०
मासाचुसेट्स ११
न्युजर्सी १४
न्यु मेक्सिको ५
न्युयोर्क २९
ओरेगन ७
रोड आइल्याण्ड ४
भर्मन्ट ३
वासिङ्टन १२
जम्मा १९०
फिक्का नीला डेमोक्रेटिक रूझानका राज्य
कोलोराडो ९
मिन्नेसोटा १०
न्यु ह्याम्पसायर ४
नेभादा ६
भर्जिनिया १३
जम्मा ४२
ब्याटलग्राउण्ड स्टेट्स
एरिजोना ११
फ्लोरिडा ३९
मिचिगन १६
नर्थ क्यारोलाइना १५
पेन्सेल्भेनिया २०
विस्कन्सिन १०
जम्मा : १०१