नेपालमा शुक्रबार ४४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा गरी पछिल्लो ४४८ जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४२४ पुरुष र २४ महिलामा सङ्क्रमण देखिएको बताउनुभयो ।
आज देखिएको सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । गत माघ ९ गते नेपालमा पहिलोपटक चीनको वुहानबाट आएका एक विद्यार्थीमा पहिलोपटक सङ्क्रमण देखिएको थियो । योसँगै सङ्क्रमितको सङ्ख्या पाँच हजार ६२ पुगेको छ । तीमध्ये चार हजार ७०९ पुरुष र ३५३ महिला रहेका छन् ।
उनका अनुसार प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका दुई पुरुष र झापाका सात पुरुष रहेका छन्। यस्तै त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा महोत्तरीका १० पुरुष, भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका आठ पुरुष, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धादिङका एक पुरुष, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका १७ पुरुष, उदयपुरका तीन पुरुष र सिरहाका ११ पुरुष रहेका छन् ।
यस्तै कोशी अस्पतालमा गरिएको परीक्षणमा इलामका एक पुरुष, झापाका छ पुरुष र सुनसरीका एक महिला तथा नौ जना सङ्क्रमण देखिएको छ । यसैगरी प्रादेशिक प्रयोगलामा पोखरामा गरिएको परीक्षणमा पर्वतका १३ पुरुष, स्याङ्जाका २२ पुरुष, नवलपुर (पूर्व)का एक र तनँहुका एक पुरुषमा सङ्क्रमण भएको पृष्टि भएको छ ।
यस्तै भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बर्दियाका दुई महिला र १३ पुरुष, बाँकेका एक महिला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी (पूर्व)का चार पुरुष, मोरङ एक, धादिङका दुई महिला र २५ पुरुष रहेका छन् ।
यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका एक महिला र तीन पुरुष तथा सर्लाहीका चार पुरुष रहेका छन् । यस्तै राप्ति जनस्वास्थ्य प्रयोगशाला गरिएको परीक्षणमा दाङका तीन महिला र पाँच पुरुष रहेका छन् ।
सुर्खेतस्थित प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका पाँच महिला र ३३ पुरुष तथा सुर्खेतका दुई महिला र ४३ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्धाखाँचीका दुई पुरुष, गुल्मी र पाल्पाका एक÷एक जना पुरुष, प्युठानका दुई पुरुषm रुपन्देहीका तीन महिला र १३ पुरुष नवलपुर (पश्चिम)का एक महिला र एक पुरुष रहेका छन् ।
यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १४१ जना सङ्क्रमण भएको पृष्टि भएको छ । तीमध्ये सर्लाहीका नौ महिला र ४१ पुरुष, रौतहटका ८६ पुरुष, बारा, धादिङ, धनुषा, नुवाकोटका एक/एक जना पुरुष र काठमाडौँकी एक जना महिला रहेका छन् ।
१६ जना डिस्चार्ज
मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार आज १६ जना सङ्क्रमित पूर्णरुपमा निको भई घर फर्किएका छन् । तीमध्ये १२ पुरुष र चार महिला रहेका छन् । अहिलेसम्म ८७७ डिस्चार्ज भई घर फर्किका छन् । तीमध्य ७८६ पुरुष र ९१ महिला रहेका छन् ।
आज डिस्चार्ज भएर घर फर्किनेमा सशस्त्र प्रहरीको कोभिड–१९ युनिफाइड अस्पताल, बलम्बुबाट दुई महिला र एक पुरुष, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक महिला, काठमाडौँ मेडिकल अस्पताल दुवाकोटबाट दुई महिला र एक पुरुष, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आठ पुरुष र ह्याम्स अस्पतालबाट एक पुरुष डिस्चार्ज भएर घर फर्किएका छन् ।
अहिलेसम्म पिसिआर एक लाख २१ हजार ८६२ र आरडिटी एक लाख ८८ हजार ५२ जनाको गरिएको छ । २४ घण्टामा पिसिआर पाँच हजार ९२५ जना र आरडिटी नौ हजार ९०९ मा गरिएको छ ।
कोभिड–१९ बाट थप एकको मृत्यु
कोरोना भाइरस कोभिड–१९ बाट आज थप एक जना मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्घाखाँची मालारानी गाउँपालिका–४ का ५७ वर्षका पुरुषको निधन भएको बताए। गत बुधबार लुम्बिनी अस्पताल बुटवलबाट उपचार गरी घर फर्कने क्रममा कोद्रे खोला नजिक उनको निधन भएको हो ।
उनी १२ दिनअघि भारतको महाराष्ट्रबाट आई सोही ठाउँको सार्वजनिक आधारभूत माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए। क्वारेन्टिनमा बसेका बेला स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो ।
मन्त्रालयका प्रवक्ता डा गौतमले मृत्युपछि उनको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बिहीबार जेठ २९ गते कोभिड–१९ को सङ्क्रमण देखिएको बताए। उनीसँगै कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ।
कोरोना संक्रमणबाट मृत्यु भएकाको विवरण
१. सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया महिला । उनी १० दिनको सुत्केरी थिइन् । २ जेठमा निधन भई ३ जेठमा कोभिड १९ को संक्रमण पत्ता लागेको
२. बाँकेको नरैनापुरका २५ वर्षीय युवक । ३० वैशाखमा भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएका । ४ जेठमा मृत्यु भएपछि परीक्षणबाट संक्रमण पत्ता लागेको ।
३. गुल्मीका ४१ वर्षीय शिक्षक । ५ जेठमा रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका । जन्डिस समेत भएका उनको ८ जेठको विहान निधन भएको ।
४. बाराका ७० वर्षीय वृद्ध । क्षयरोग र स्वास प्रश्वासको समस्याका कारण २ जेठमा अस्पताल भर्ना भई ४ जेठमा मृत्यु भई १२ जेठमा संक्रमण पुष्टि भएको ।
५. ललितपुर बुङमतीका ५६ वर्षीय पुरुष, १२ जेठमा किष्ट अस्पताल भर्ना भई १४ जेठमा मृत्यु भएको छ । १५ जेठमा संक्रमण पुष्टि
६. अर्घाखाँचीको भुमिका स्थान घर भएका ३५ वर्षीय पुरुष, भारतबाट फर्किदा १० जेठमा बाटोमै मृत्यु भई परीक्षणबाट कोरोना संक्रमण पुष्टि, १६ जेठमा संक्रमण पुष्टि
७. दैलेखको दुल्लु नगरपालिका खागितडाका ३५ वर्षीय पुरुष । पटांगिनी बजार दुल्लुको क्वारेन्टाइनमा ढलेर बेहास भई केही समयमा मृत्यु । स्वाब परीक्षणका क्रममा १७ जेठमा कोरोना संक्रमण पुष्टि
८. बाजुराको बुढीगंगा नगरपालिका धुरालसैनकी २ वर्षीया बालिका । बाबुआमासँगै बाजुराको धुरालसैन माविको क्वारेन्टाइनमा रहेकोमा १८ जेठको विहान मृत्यु भएको । १० जेठमा भारतबाट सपरिवार आएकी ।
९. दोलखा घर भएका ७६ वर्षीय पुरुष, १३ जेठमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएको र हेमोरेजिक स्ट्रोक भई शल्यक्रिया गरी १५ जेठमा कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ अस्पताल महाराजगञ्ज लगिएको थियो । उपचारका क्रममा उनको २१ जेठमा टिचिङ अस्पतालमै मृत्यु भएको ।
१०. पाल्पा सिलुवाखोलाका ४५ वर्षीय पुरुष । स्थानीय क्वारेन्टाइनमा राखिएको र स्वास्थ्यमा गडबडीपछि १९ जेठमा मिसन अस्पताल पाल्पामा लगिएको थियो । उपचारका क्रममा उनको २० जेठमा मृत्यु भएको थियो । २२ जेठमा कोरोना संक्रमण पुष्टि भएको
११. सुर्खेत पञ्चपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवक । ७ जेठमा भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका । परीक्षण गर्दा नेगेटिभ आएपछि २२ जेठमा घर गएकामा त्यहीं मृत्यु भएको थियो । मृत्यु भएपछि नमुना परीक्षणका क्रममा २३ जेठमा कोभिड १९ पुष्टि भएको
१२. डोल्पाका ५८ वर्षीय पुरुष । जगदुल्ला गाउँपालिका ३ घर भएका उनको २० जेठमा मृत्यु भएको । नमुना परीक्षणका लागि स्वाब संकलन गरी २२ जेठमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्याइएको । २४ जेठमा कोरोना संक्रमण पुष्टि भएको
१३. कैलालीकी ५५ वर्षीया महिला । धनगढी ४ की मृगौला रोगी उनको डायलसिस गर्ने क्रममा २३ जेठमा मृत्यु भएको थियो । सेती अस्पतालमा डायलसिसका लागि आउँदा त्यही बेलामा मृत्यु भएको । २४ जेठमा कोरोना संक्रमण पत्ता लागेको
१४. स्याङ्जा वालिङ नगरपालिका घर भएका ५८ वर्षीय पुरुष । मृत्यु पछि २६ जेठमा कोरोना भाइरसको संक्रमण पत्ता लागेको
१५. चितवन भरतपुर ११ का पुरुषको २७ जेठमा निधन भएको । निमोनिया संक्रमित उनको २६ जेठमा कोरोना संक्रमण पुष्टि भएको ।
१६. अर्घाखाँचीको मालारानीको क्वारेन्टाइनमा बसेका ५७ का पुरुष, १२ दिन अघि मुम्बईबाट आई क्वारेन्टाइनमा राखिएको । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराई फर्कंदा कोद्रेखोलामा २८ जेठमा मृत्यु भएकोमा २९ जेठमा पत्ता लागेको ।