दैलेखका २२ जनाले जिते काेराेना

दैलेखको नारायण नगरपालिकाका २२ जनाले कोरोना जितेका छन्। जसमा  २० महिने बालक पनि रहेका छन्। जिल्ला सदरमुकामस्थित सरस्वती मावीकाे आइसोलेसनमा उपचार गरिरहेका २२ जनाले कोरोना जितेका हुन्। 

आइसोलेसनमा उपचाररत उनीहरुको पीसीआर रिर्पोट नेगेटिभ आएको र रोगको कुनै लक्षण नदेखिएपछि शुक्रबार डिस्चार्ज गरिएको दैलेख अस्पतालका प्रमुख डा. निरञ्जन पन्तले जानकारी दिए। डिस्चार्ज हुनेमा सबै भारतबाट आएका छन्। उनीहरुले दुई हप्ता देखि २० दिनमा कोरोना जितेका हुन। 

डा. पन्तका अनुसार डिस्चार्ज हुनेमा नारायण नगरपालिका वडा नम्बर २ का २१ र ४१ वर्षीय पुरुष, वडा नम्बर ३ का १९, ३०, ३० र ३० वर्षीय पुरुष, वडा नम्बर ४ का २० महिनाको बालक, २५, २५ र ४० वर्षीय पुरुष छन्। 

त्यसैगरी वडा नम्बर ६ का २७ वर्षीय पुरुष, वडा नम्बर ८ का २०, २० र २८ वर्षीय पुरुष, वडा नम्बर ९ का २० र ५० वर्षीय पुरुष, वडा नम्बर १० का १७, १७, २० र २३ वर्षीय पुरुष र वडा नम्बर ११ का १८ र २७ वर्षीय पुरुष रहेका छन्।

डिस्चार्ज भएकालाई दैलेख अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्मा, नारायण नगरपालिका-१ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठ लगायत अस्पतालका स्वास्थ्यकर्मीले खादा ओढाएर पुष्पगुच्छा दिएर बिदाइ गरे। घर फर्किने क्रममा उनीहरुले उपचारमा खटिएका सबै चिकित्सकलाई धन्यवाद दिँदै आत्मबल बढाएर कोरोनालाई सहजै जित्न सकिने बताएका छन्। 

शुक्रबार कोरोना जितेर डिस्चार्ज भएका २२ जनासहित दैलेखका २६ संक्रमित निकाे भएका छन्। यसअघि डुङ्गेश्वर गाउँपालिकाका एक र दुल्लु नगरपालिकाका तीनजना निकाे भई घर फर्केका छन्।

प्रकाशित मिति: : 2020-06-12 13:41:35

प्रतिकृया दिनुहोस्