अमेरिकी ब्लगरले लगाइन् पाकिस्तानका पूर्वप्रधानमन्त्रीसहित ३ जनाविरुद्ध बलात्कारको आरोप

पाकिस्तानमा रहँदै आएकी एक अमेरिकी ब्लगरले पाकिस्तानका पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीसहितका नेताहरुमाथि बलात्कारको आरोप लगाएकी छन्। अमेरिकी ब्लगर सिन्थिया डी. रिचीले सो आरोप लगाएकी हुन्।

रिचीले पाकिस्तानको विपक्षी दल पाकिस्तान पीपुल्स पार्टीका थुप्रै नेताहरुमाथि यस्तो आरोप लगाएकी हुन्।

पाँच जुनको दिन सिन्थियाले आफ्नो फेसबुक भिडियो लाइभमार्फत् पाकिस्तान पिपुल्स पार्टीको सरकारमा गृहमन्त्री बनेका रहमान मलिकले आफूलाई सन् २०११ मा बलात्कार गरेको बताएकी छन्।

यस्तै उनले पाकिस्तान पीपुल्स पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री यूसुफ रजा गिलानीमाथि पनि गम्भीर आरोप लगाएकी छन्। इस्लामावादमा ऐवान–ए–सदर (पाकिस्तानको राष्ट्रपति निवास)मा गिलानीलाई भेट्दा, गिलानीले आफूलाई जबरजस्ती गर्न खोजेको उनको आरोप छ।

सिन्थियाले पाकिस्तानका पीपुल्स पार्टीका नेता तथा पूर्वस्वास्थ्य मन्त्री शहाबुद्दीनमाथि पनि जोर जबरजस्ती गरेको आरोप लगाएकी छन्। 

फेसबुक भिडियोमा सिन्थियाले आफूमाथि भएका सबै घटनाहरुको बारेमा विस्तारमा जानकारी दिन सक्ने बताएकी छन्। तर यी सबै हिंसाका बारेमा भिडियोमा बताउँदा बालबाललिकाले पनि हेर्ने भएकोले त्यसो नगरेको उनको भनाई छ। यद्यपि उनले निष्पक्ष र खोजी पत्रकारहरुलाई यसबारे विस्तारमा जानकारी दिन आफू तयार भएको बताएकी छन्।

आफ्नो फेसबुक पेजमा उनले लेखेकी छन्–

यो घटना पाकिस्तानको राजधानी इस्लामावादको मिनिस्ट्रियल एनक्लेवमा रहेको गृहमन्त्री निवासमा भएको थियो। यो सन् २०११ को घटना हो। त्यही दिन ओसामा विन लादेन अमेरिकी कमाण्डोबाट पाकिस्तानको एबटावादमा मारिएका थिए। मलाई लाग्यो गृहमन्त्रीसँगको भेटवार्ता शायद मेरो भिसाको विषयमा होला। तर मलाई फूल र यस्तो पेय पदार्थ दिइयो, जसमा नशालु औषधि मिसाइएको थियो। म चूप रहेँ किनभने पाकिस्तान पिपुल्स पार्टीको सरकारमा आदिर को थियो र जो आफ्नो गृहमन्त्रीविरुद्ध उत्रिएर मेरो सहयोग गर्न सक्ने। हालै उनीहरुले मेरो परिवारलाई निशाना बनाए।

सन् २०११ मा नै मैले मसँग भएका घटनाको बारेमा अमेरिकी दूतावासमा कसैसँग भनेको थिएँ। तर त्यो बेला अवस्था एकदम नाजुक थियो। अमेरिका र पाकिस्तानबीच पेचिलो सम्बन्धका कारण मेरो गुनासोमा अमेरिकी दूतावासका ती अधिकारीले खासै चासो दिएनन्। पाकिस्तानमा मेरो कुराकानी एक शानदार व्यक्तिसँग भयो। अब उनीसँग मेरो इङ्गेजमेन्ट पनि भइसकेको छ। उनले आफूसँग भएका सबै कुरा दुनियाँलाई जानकारी देऊ भनेर मेरो हौसला बढाए। ताकि हामी एक युगलको रुपमा जिन्दगीलाई अगाडि बढाउन सकौं।

यस्ता धेरै कुराहरु छन्, जो म भन्न चाहान्छु। तर हाल मलाई आराम गर्न केही समय चाहिएको छ। म एक्लै मेरो जोडासँग बस्न चाहान्छु। म थाकिसकेकी छु। मैले पाकिस्तान पिपुल्स पार्टीको नेतृत्व र बिलावल भुट्टो जरदारीसँग अपिल गरें– उनको पार्टीका मान्छेहरुले म र मेरो परिवारलाई एक्लै छाड्दिउन्।

आगामी हप्ता म कानुनको सामना गर्न र कुनै पनि अनुसन्धानकर्तासँग भेट्न तयार छु। तर अहिल म सबैसँग अनुरोध गर्दछु कि मेरो गोप्यताको सम्मान गरियोस् र मलाई एक्लै छाडिदिइयोस्।

उनले यसबारे आफूले अमेरिकी दूतावासका कर्मचारीसँग त्यतिबेलै जानकारी गराए पनि त्यतिबेलाको समय निकै खराब रहेको बताएकी छन्। उनले पाकिस्तान र अमेरिकाबीचको सम्बन्ध पेचिलो रहेका कारण आफूमाथि भएको हिंसाको घटनामा कसैले चासो नदिएको बताएकी छन्।

रिचीले लगाएको आरोपमा सत्यता छैनः पिपुल्स पार्टी

अमेरिकी ब्लगर सिन्थिया रिचीले लगाएका आरोपमा पाकिस्तान पिपुल्स पार्टीका नेताहरुले कुनै सत्यता नभएको बताएका छन्। उनीहरुले सिन्थियाको उद्देश्यमाथि पनि प्रश्न उठाएका छन्। पाकिस्तानका पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीले सिन्थियाको आरोप निराधार र असत्य भनेका छन्।

पाकिस्तानका पूर्वगृहमन्त्री रहमान मलिकका प्रवक्ताले भनेका छन्, ‘सिंथियाको आरोप असत्य छन् उनी मात्र पूर्वमन्त्रीको चरित्र हत्या गर्न चाहन्छिन्।

सिन्थिया रिचीले आफूलाई लेखिका, फिल्म निर्माता र ब्लगरको रुपमा चिनाउँछन्। उनको सन् २००९ मा पहिलो पटक पाकिस्तान आएकी उनको सम्बन्ध पाकिस्तानका उच्च नेता र सुरक्षा अधिकारीहरुसम्म छ।

उनले गत मे २८ मा एक ट्वीट गर्दै पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोमाथि पनि गम्भीर आरोप लगाएकी थिइन्। उनले लेखेकी थिइन्, ‘बेनजिर भुट्टोले आफ्ना सुरक्षा गार्डहरुमार्फत् ती महिलाहरुमाथि बलात्कार गराउँथिन्, जुन महिलासँग उनको पति आसिफ अलि जर्दारीको सम्बन्ध हुने गर्दथ्यो।’ 
उनको यो ट्वीटपछि जनताले प्रमाण पेश गर्न सिन्थियालाई भने तर सिन्थियाले अहिलेसम्म त्यससम्बन्धी एउटा पनि प्रमाण सार्वजनिक गर्न सकेकी छैनन्।

प्रकाशित मिति: : 2020-06-12 08:28:23

प्रतिकृया दिनुहोस्