कुवेतबाट आइपुगे थप १४९ नेपाली, सेनाले पुर्‍यायो होल्डिङ सेन्टर

वैदेशिक रोजगारीका लागि कुवेत गएका थप १४९ नेपाली महिला कामदार स्वदेश फर्किएका छन्। उनीहरुलाई जजिरा एयरलायन्सको दोस्रो उडानमाबाट कुवेतले नै काठमाडौंसम्म ल्याइदिएको हो। 

उनीहरुलाई नेपाली सेनाको टोलीले विभिन्न होल्डिङ सेन्टरमा लगेको छ। त्यहाँबाट विवरण संकलनपश्चात क्वारेन्टाइनमा पठाइनेछ। सेनाले प्रदेशगत हिसाबले छुट्याएर होल्डिङ सेन्टरमा लगेको हो।

कोरोना महामारी र लकडाउनले विदेशमा अलपत्र नेपालीलाई जहाजबाट नेपाल फर्काउने सरकारको निर्णयअनुसार उनीहरु ल्याइएको हो।

यसअघि बिहान पहिलो उडानमा जजिरा एयरलायन्सको जहाजबाट १५० नेपाली महिला कामदार स्वदेश फर्किएका थिए। उनीहरुलाई सेनाको १ वटा र ८ वटा साझा बसमा होल्डिङ सेन्टरमा लगिएकाे छ। त्यहाँबाट आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धित प्रदेशमा पठाइनेछ । 

कुवेतबाट २ हजार ९९१ जनाले फर्किन चाहेका छन्। उनीहरुलाई चरणबद्ध रुपमा नेपाल ल्याइने पर्यटन मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-06-11 17:19:59

प्रतिकृया दिनुहोस्