एनआरएनको संलग्नतामा मानव तस्करी कहिलेसम्म?

गैर आवासीय नेपाली संघको अध्यक्ष पदमा कुमार पन्त चिनिँदै गर्दा उनलाई गम्भीर आरोप लाग्यो।

एनआरएनको पछिल्लो अधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष कुमार पन्तलाई जर्मनीमा मानव तस्कर गरेको अभियोगसहित समाचार  सार्वजनिक भएको थियो।

समाचारपछि न उनीमाथि छानबिन भयो, न त उनीमाथि लागेको आरोपको सही/गलत पुष्टि कतैबाट हुन सक्यो।

अध्यक्षमा निर्वाचित भइसकेपछि पनि उनले यो केसलाई छानबिन गर्न चासो देखाएनन्। बरू यो केस त्यतिकै सिद्धियो।

सन् २०१३ मा बेल्जियमको गेन्ट सहरमा आयोजित असेन्ता मेलामा नेपालीको तर्फबाट ठूलो मात्रामा मानव तस्करी भएको थियो।  जुन कार्यक्रममा सहभागीको आवाज र त्यतिखेरका समाचारले प्रस्ट पारेका थिए। पछि कार्यक्रम संयोजक अर्जुन कुमार श्रेष्ठलाई छानविनको दायरामा ल्याइयो। तर छानबिन समितिले न कारबाही गर्न सक्यो न एनआरएन केन्द्रले नै गर्न सक्यो। बरू श्रेष्ठ अहिले केन्द्रमा राम्रो पदमा आसिन छन्।

त्यस्तै गरेर खाडी मुलुकमा रहेका एनआरएन नेता आरके शर्मामाथि पनि मानव तस्करको आरोप बेला बेलामा लाग्दै आएको छ। उनलाई कतार सरकारले जेल चलान पनि गर्‍यो। जानकारको कुरालाई आधार मान्ने हो भने शर्मा यो कुरामा चोखो छैनन्।

यी माथिका कुराहरू सामान्य उदारहण मात्रै हुन्। केही समयअघि युरोपमा भएको एनआरएन युरोपेली सम्मेलनमा आएका पत्रकार यतै बसे। उनी नेपाल फर्किएनन्।

नेपाल पत्रकार महासंघ युरोप शाखाका एक पदाधिकारीका अनुसार  अहिले उनी इटालीमा छन्। त्यस्तै गरेर विगत चेक रिपब्लिकमा दलालीका घटनाहरू भएको थिए। पछि पीडित पोर्चुगल पुगेपछि घटना सेलायो।

नेपालीको लागि मानव तस्करको प्रमुख थलो मानिने पोर्चुगलको अवस्था बेग्लै छ। प्रत्येक एनआरएन  कार्यकाललाई मानव तस्कारीको आरोप लाग्ने गरेको छ। विगतमा पूर्वअध्यक्ष भीम केसी कमल हुन् वा वर्तमान अध्यक्ष तिलक गैरे यो आरोपबाट अछुतो देखिँदैनन्।

केसीले बागलुङका युवाहरू मोटो रकम लिएर पोर्चुगल छिराएको आरोप लागेको थियो। तर त्यसको छानबिन कहीँ कतैबाट भएको पाइएन।

अहिलेका अध्यक्ष तिलक गैरेले दलाली गर्दै आएको त्यहाँस्थित नेपाली पत्रकारहरू बताउँछन्। ‘गैरेले  बेल्जियम पर्यटक भिसामा आएर पोर्चुगल पुगेका एक नेपालीको खेतीमा पेपर भरिदिएका छन्,’ नाम नलेख्ने सर्तमा एक नेपालीले बताए।

अहिले पछिल्लो समयमा माल्टाको एनआरएन कमिटीले गरेको मानव तस्कर सम्बन्धी घटना बाहिर आएको छ। यो घटनामा सबै कमिटी मुछिएपछि उनीहरूले सामूहिक राजीनामा पनि दिएका छन्। तर उनीहरुले समाचार नियोजित रूपमा पत्रकारहरुले निकालेको आरोप पनि लगाएका छन्।

‘मैले आफ्ना आफन्त माल्टा ल्याएको छु। कोही म बाट पीडित भए अगाडि ल्याउनुहोस्। म जस्तो सुकै सजाय भोग्न तयार छु। तर नियोजित रूपमा मैं माथि आइलाग्न हुँदैन,’ एनआरएन माल्टाका अध्यक्ष बाबु अर्यालले भने, ‘हामीले कोरोना महामारी हुँदा गरेका हुन् वा नेपालीलाई आपत पर्दा गरेका सहयोगको लेखाजोखा नै भएन।’

माल्टा अहिले मानव तस्करीको ठूलो अखडा बनेको छ। ३ वर्ष अघिदेखि सुरू भएको यो कार्य अहिले पछिल्लो चरणमा व्यापकता पाएको छ। धेरै जस्तो नेपाली विद्यार्थी आउने र पोर्चुगल जाने गरेका छन्। केही कामदार भिसामा आउने पनि गरेका छन्। उनीहरूले म्यानपावर लगायत व्यक्तिगत रूपमा १०/१२ लाख रुपियाँसम्म तिर्ने गरेका छन्। 

यसमा एनआरएनको उच्चस्तरीय नेताको हात रहेको हुनसक्ने  विभिन्न एनआरएन अभियन्ता बताउँछन्।

‘एनआरएनकै नेताको यो दलालीमा हात रहेको पक्का छ। तर इथेस्ट प्रमाण नहुँदा हामी काम कारबाही अगाडि बढाउन सकेका छैनौं,’ एनआरएन केन्द्रका एक पदाधिकारीले भने, ‘अब यसलाई जरैदेखि निकाल्ने हामी बढेका छौं।’

अहिले युरोपमा भएका अधिकांश देशका एनआरएन कमिटी भित्र रहेका हुन् वा सर्वसाधारण नेपाली नै किन नहुन् उनीहरूले कुनै न कुनै माध्यमबाट आफ्ना मान्छे हरु युरोप भित्र्याएका छन्। पछिल्लो समयमा पर्यटक भिसामा भित्र्याउने र पेपरको लागि पोर्चुगल पठाउने गरेका छन्। उनीहरूका अनुसार यसको लागि नेपाल स्थित विभिन्न दूतावासमा कार्यरत नेपालीहरुको संलग्नता देखिन्छ।

‘हेर्नुहोस् सुरूमा भिसा दिन आनाकानी गरेको जस्तो देखिन्थ्यो। पछि त्यहीँ भित्रकै लिंक भयको व्यक्तिले संकेत दिएपछि उसलाई १ लाख रुपैयाँ बुझाइयो। जर्मन दूतावासले भिषा दियो’, बेल्जियम निवासी लोक थापाले भने।

उनका अनुसार अहिले उनले आफ्ना मान्छेलाई बेल्जियम आएर पोर्चुगल पठाएका छन्। पोर्चुगलको पेपर प्रोसेस पनि भइसकेको छ।

युरोपमा  एन आर एन भित्र होस वा व्यक्तिगत रूपमा हुने यस्ता कार्यहरू नियन्त्रण गर्न एनआरएन केन्द्रीय कमिटीले विशेष पहल गर्नु जरूरि देखिन्छ। जति पनि एनआरएनका आरोपितहरू छन् उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ। त्यसको लागि नेपाल सरकार, नेपालस्थित युरोपेली देशका दूतावासहरू, विदेशस्थित कुटनीतिक नियोग, विभिन्न देशका प्रहरीको सहयोग लिन सकिन्छ। त्यसोगर्दा आरोपितसँगै अरू संलग्न व्यक्तिको चेहरा पनि बाहिर ल्याउन सशक्त मद्दत पुग्नेछ र कारबाही गर्न सकिन्छ।  जसले गर्दा एनआरएनलाई खोजे जस्तो मानव तस्कर मुक्त संस्था बनाउन सहयोग पुग्नेछ।

त्यस्तै  गरेर अर्को तर्फ नेपाल सरकारले युरोपका विभिन्न देशहरूमा नेपाली कामदार सरकारी माध्यमबाट पठाउन सक्दछ।यसको लागि युरोप स्थित कुटनैतिक नियोगहरु लाई परिचालन गर्नु जरुरी देखिन्छ। पछिल्लो समयमा युरोपमा मुलुकहरू चेक रिपब्लिक, माल्टा, पोल्यान्ड, पोर्चुगल, रोमानियालगायतका देशहरूमा वर्षेनी नेपालीहरु कामदार भिसामा आइरहेका छन्। उनीहरूले म्यानपावरलाई १० देखि १२ लाख सम्म तिरेर आएका छन्।

यो क्रममा कती नेपाली पीडित छन् भने कतिले भने जस्तो रोजगार नपाएको देखिन्छ। बरू यी देशहरूसँग सिधै नेपाल सरकारले सम्झौता गर्यो भने नेपाली कामदार सहज रुपमा सस्तो रकममा आउन पाउनेछन्। जसले गर्दा मानव तस्करका घटना रोकिन्छन् भने पीडित नेपालीको संख्या पनि कम हुन जान्छ।

अर्कोतर्फ नेपाली विद्यार्थी पनि ठूलो रकम तिरेर युरोपका विभिन्न देश आउने र पोर्चुगल जाने गरेका छन्। जसको पछिको अखडा माल्टा ,डेनमार्क लगायतका देशहरू बन्ने गरेका छन्। नेपालदेखि आउने र दुःख पाएपछि पीडित बन्दै आउनेको संख्या धेरै छ। यसरी ल्याउनेहरू पनि एनआरएन भित्रै रहेको देखिन्छ। ल्याउने आउने दुवैको उत्तिकै गल्ती देखिन्छ। तसर्थ यो केसमा पनि नेपाल सरकारले विशेष चासोका साथ हेर्न जरूरी देखिन्छ भने एनआरएन केन्द्रीय कमिटीले पनि तदारुकता देखाउन जरुरी छ।

‘नेपाल सरकारले दक्षिण कोरियामा जस्तै युरोपका विभिन्न देशहरूमा नेपाली कामदार पठाउन सक्छ। त्यसको लागि यहाँस्थित नेपाली कुटनीतिक नियोग मार्फत पहल गर्नु जरूरी देखिन्छ। यसो गर्दा अहिले बाहिर आएका मानव तस्करी भनिएका घटनामा कमी आउँछ,’ एनआरएन युरोप संयोजक नारायण आचार्यले भने, ‘यसको लागि युरोप संयोजकको हैसियतले मेरो विशेष पहल रहनेछ।’

प्रकाशित मिति: : 2020-06-10 17:02:00

प्रतिकृया दिनुहोस्