साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनको मोडालिटी परिवर्तन हुनसक्ने

बुधबार साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। यसअघि दुई बजेलाई तय भएको बैठक विशेष कारणले साँझ पाँच बजेलाई सरेको हो।

आजको बैठकमा लकडाउनको मोडालिटीको विषयमा छलफल हुने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनजीवन सहज बनाउन लकडाउनको मोडालिटी हेरफेर गरिने संकेत अघि नै सदनमा गरिसकेका छन्।

प्रधानमन्त्रीले आजको संसद बैठकमा पनि लकडाउनलाई कायमै राखिए पनि दैनिक जनजीवन सहज बनाउन मोडालिटी हेरफेर गरिने संकेत दिएका थिए।

यसैबीच कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले लकडाउनलाई सहज पार्न विभिन्न पाँच चरणको प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा बुझाएको छ।

स्रोतका अनुसार सरकारले पाँच चरणमा लकडाउन खोल्ने प्रस्ताव तयार पारेर प्रधानमन्त्री ओलीलाईसमेत ब्रिफिङ भइसकेको छ।

सीसीएमसीले प्रस्ताव गरेको मोडालिटी

पहिलो चरणमा असार १ गतेदेखि निजी कार, एवम् ट्याक्सी सेवा, डेलिभरी सर्भिस, ओपन एयर मार्केट, कृषि क्षेत्र खुला गर्ने। ४० प्रतिशत यात्रु राखेर आन्तरिक उडान सुरू गर्न सकिने।

दोस्रो चरण असार १५ गतेदेखि निर्माण क्षेत्र खुला गर्न प्रस्ताव। यो अवधिमा निर्माण सामग्रीको उत्पादन, कार वास सेन्टरहरू, अटो सर्भिससँग सम्बधित सम्पूर्ण सेवा सुचारु गर्न सकिने।

तेस्रो चरण, असार २९ गतेदेखि सपिङ मलबाहेकका खुद्रा एवम् होलसेल, प्रकाशन गृहहरू, खुला बजार क्षेत्र (भृकुटी मण्डप, कालिमाटी तरकारी बजार जस्ता स्थानहरू पूर्णतः खुला गर्न सकिने।

चौथो चरण, साउन १२ गतेदेखि सपिङ मल, रेस्टुराँ, बैंक, एवम् वित्तीय सेवा, ब्युटि सैलुन आदि खोल्न प्रस्ताव।

पाँचौं चरण, साउन २६ गतेदेखि क्याटरिङ, पार्टी प्यालेस, धार्मिक क्षेत्र, अनसाइट रेस्टुराँ एवम् होटलसँग जोडिएका सेवा क्षेत्र खोल्ने।

त्यसपछि संक्रमणको लकडाउनलाई अन्त्य गर्न सुझाव दिएको छ। तत्पश्चात् मनोरञ्जन, खेल, होटल र शैक्षिक संस्था खुला गर्न प्रस्ताव गरिएको सीसीएमसीका एक सदस्यले जानकारी दिए।

सम्भवतः आजको मन्त्रिपरिषद्ले सीसीएमसीको यही प्रस्तावलाई कार्यरूप दिनसक्ने सम्भावना रहेको छ।

प्रकाशित मिति: : 2020-06-10 15:22:14

प्रतिकृया दिनुहोस्