गृहको जिम्मेवारी सेनालाई सारिएको छैन, भ्रममा नपरौँः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासमा सेनाको संलग्नताको बचाउ गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नेपाली सेना सरकारको एक अंग भएकाले विपदका बेला सबै संयन्त्र परिचालन गर्ने क्रममा सेनालाई पनि जिम्मेवारी दिइएको बताए ।

सांसदहरुले अत्यावश्यक स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिएर सरकारले उसलाई पनि भ्रष्टाचारमा मुछ्न काम गरेको आरोप लगाएका थिए ।

त्यसको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘अहिले मात्रै होइन सेनाले यसअघि धेरै चिज किनेको छ । बिस्कुट किनेको छ, कपडा किनेको छ, त्यतिबेला भ्रष्टाचार भएन। अहिले आफूलाई चाहिने कुरा छिटो छरितो रुपमा किन्दा भ्रष्टाचार भयो भन्ने?’

उनले अघि भने, ‘सेनाले अस्पताल चलाउन पाउँछ कि पाउँदैन? अहिले सेनाले आफूलाई चाहिने सामग्री किन्दा आपत्ति हुनुपर्ने होइन ।’

उनले भने, ‘सेनालाई नेपाल भन्दा बाहिरको भनेर व्यवाहार गर्नु आवश्यक छैन । सुरक्षाका लागि सबै संयन्त्र रिचालन हुन्छ ।’

सेनालाई जिम्मेवारी दिँदा गृह मन्त्रालयको जिम्मेवारी खोसियो भन्नुको कुनै अर्थ नरहेको उनले बताए । उनले भने, ‘अहिले सेनालाई जिम्मेवारी दिएको हो । गृहको जिम्मेवारी सेनालाई सारिएको छैन, भ्रममा नपरौँ ।’

प्रकाशित मिति: : 2020-06-10 13:24:09

प्रतिकृया दिनुहोस्