कोरोनाका कारण सबैभन्दा खराब अवस्था भएका मुलुकको सूचीमा नेपाल ७७ औं स्थानमा पुगेको छ।
कोभिड १९ का कारण संसारका सबैभन्दा खराब मुलुकको सूचीमा ८० औं स्थानमा रहेको नेपाल हिजो थपिएका संक्रमितसँगै ७७ औं स्थानमा उक्लिएको हो।
नेपालमा कोरोना भाइरसको संक्रमण संख्या ४ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मंगलबार थप ३२३ जनामा कोरोना संक्रमण देखा परेको हो। जसमा २९२ पुरूष र ३१ जना महिला छन्। भने आज बिहान गण्डकी प्रदेशमा एकजना संक्रमित थपिएका छन्।
नेपाललाई अहिले हंगेरी, आइभोरीकोस्ट र लग्जमवर्गले पछ्याइरहेको छ।
हङ्गेरीमा ४ हजार १७ जना संक्रमित छन्। हङ्गेरीमा कोरोना संक्रमित ५ सय ५० जनाको त मृत्यु भइसकेको छ।
यता नेपालले उछिनेको लग्जेमवर्गमा ४ हजार ४६ जना संक्रमित छन्। त्यहाँ पनि १ सय १० जनाको मृत्यु भइसकेको छ।
नेपालमा अहिलेसम्म १५ जनाको मृत्यु भएको छ। खराब मुलुकको सूचीमा शीर्ष स्थानमा अमेरिका, ब्राजिल र रसिया रहेका छन्। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १९ लाख ७३ हजार ८ सय ३ जनामा संक्रमण पुष्टि भएको छ।
ब्राजिलमा ७ लाख ७ हजार ४ सय १२, रुसमा ४ लाख ८४ हजार ६ सय ३०, बेलायतमा २ लाख ९० हजार ५ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
विश्वभर ४ लाख ८ हजार ९ सय ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक १ लाख ११ हजार ७ सय ५१ जनाको मृत्यु भएको छ। त्यस्तै, बेलायतमा ४० हजार ९ सय ६८, ब्राजिलमा ३७ हजार १ सय ३४, इटालीमा ३४ हजार ४३ जनाको मृत्यु भएको छ।