राप्रपा बाँकेद्वारा नेपालगन्जमा प्रदर्शन

नक्सा संशोधन सम्बन्धि प्रस्ताव संसदबाट अबिलम्ब पारित गर्नुपर्ने माग गर्दै राप्रपाले मंगलबार नेपालगञ्जमा विरोध प्रदर्शन गरेको छ । 

राप्रपाका नेता तथा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको नेतृत्वमा पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन त्रिभुवन चोक पुगेर पुन: जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो । 

नक्सा संशोधन प्रस्ताव तत्काल पारित गर्नुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङमार्फत ज्ञापनपत्र बुझाइएको राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेलले जानकारी दिए ।

ज्ञापनपत्र बुझाए पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका नेता तथा नेपालगन्ज उपमहानगर पालिकाका प्रमुख धवल शमशेर राणाले संसदमा प्रस्तुत नक्सा संसोधन प्रस्ताव तत्काल पारित गरिनुपर्नेमा जोड दिए ।

कोरोना भाईरसको नाममा व्यापक अनियमितता र भ्रष्टाचार भएको भन्दै उनले तिब्र  आलोचना गरे । जनताले दुख पाएकोमा सरकारलाई कुनै चासो चिन्ता नभएको भन्दै जनताको पिर मर्कालाई बुझ्न नसक्ने सरकार जनपक्षीय हुन नसक्ने बिचार ब्यक्त गरे। 

नक्सा संशोधनसँगै कोभिड १९ को प्रभावकारी ब्यवस्थापन, परीक्षणको दायरा बढाउन, जातिय छुवाछूत र भेदभावको अन्त्य ,आर्थिक अनियमितताको छानविन तथा ब्यवसायीका समस्या समाधान तथा आम नागरिकलाई राहतका कार्यक्रम ल्याउन माग गरिएको युवा नेता ऋषिराज देबकोटाले बताए । 

कार्यक्रममा नेताहरु ओमप्रकाश आजाद,रमेश आर्याल,सालाउद्दिन जसगढ,तेजनारायण कँडेल लगायतको सहभागिता थियो ।

प्रकाशित मिति: : 2020-06-09 22:23:54

प्रतिकृया दिनुहोस्