अछामबाट उपचारका लागि ल्याइएकी गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्ज मेडिकल शिक्षण अस्पताल शिल गरिएको छ।
सोमबार अछाम जिल्ला ,बयलपाटा अस्पतालबाट रिफर गरि ल्याएकी २५ वर्षीया १८ हप्ताकी गर्भवती महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्ज मेडिकल शिक्षण अस्पताल शिल गरिएको हो।
ती महिलालाई सोमबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी बाँकेको कोहलपुर मेडिकल कलेज पुर्याइएको थियो ।
उनका आन्द्रामा समस्याका कारण थप उपचारको लागि कोहलपुर ल्याइएको थियो। उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो। ती महिला एक साताअघि भारतबाट आएकी थिइन्।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले उनलाई अहिले आइसोलेसनमा राखेर अप्रेशनको तयारी भइरहेको जनाएको छ। एक सूचना जारी गर्दै अस्पतालले ती महिलाको अप्रेसन तथा उपचारको लागि आन्तरिक ब्यवस्थापनलाई भन्दै एक दिन मात्र अस्पतालको सम्पुर्ण बहिरङ्ग सेवा र आकस्मिक सेवा बन्द गरिएको जनाएको छ।
‘ती गर्भवती महिलाको आन्द्रा बेरिएको छ। दिशा हुन नसकेका कारण उनको अवस्था गम्भीर छ। अहिले मेडिकल टोलीले उनको अप्रेसनको तयारी गरिरहेको छ’, शिक्षण अस्पतालमा कार्यरत डाक्टर देवेन्द्र आर्चायले भने, ‘अहिले अस्पतालमा आवातजावतमा कडाई गरिएको छ।’
सोमबार उनको उपचारमा संलग्न डाक्टर, नर्सिङ कर्मचारी र सहयोगी १४ जना लाई क्वारेन्टाइनमा राखिएको छ।